२ चैत्र २०८२, सोमबार

काठमाडौँमा आगामी शनिबार ‘ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता’ हुने


ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता

काठमाडौँ । काठमाडौँमा आगामी शनिबार ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगिता हुने भएको छ । आज बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरेर सो स्कुलकी प्रध्यानाध्यापक निलम बानियाँ बडूले उक्त प्रतियोगितमा नेपालभरीका विभिन्न विद्यालयबाट २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहने बताएकी छिन् ।

सो प्रतियोगिता ज्ञान संस्कार इन्टरनेशनल स्कूलको आयोजना र नेपाल सरकारको आधिकारिक खेलकुद संस्था राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ संघसँग समन्वय गरेर सम्पादन गर्न लागिएको हो ।

आगामी शनिबार दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेशनल स्केट प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफि, मेडल तथा प्रमाण पत्र उपलब्ध गराइने छ भने द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाण पत्र र मेडल उपलब्ध गराइने प्रध्यानाध्यापक बडूले जानकारी दिइन् ।

यसका साथै सो सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिताको प्रमाण पत्र उपलब्ध गराइने पनि भएको छ । यस विद्यालयले विद्यालय स्थापनाका सुरुवाती वर्षमा नै विभिन्न विशिष्ठ शैक्षिक क्रियाकलापहरू सञ्चालन गरिसकेको छ ।

यस प्रतियोगिताले विद्यालय स्तरमा सञ्चालन हुने स्केटिङलाई विशेष उत्साह जगाउने कुरामा विश्वस्त रहेको प्रध्यानाध्यापक बडूले बताइन् । युवाहरू माझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा नै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनोस् भन्ने सो स्कुलको मनसाय रहेको छ ।

यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई अन्तराष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने भएको हुँदा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहोस् भन्ने स्कुलको चाहना रहेको छ ।

सो कार्यक्रमको समुद्घाटन माघ २६ गते बिहान ९ बजे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले गर्ने छन् भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन ज्ञान संस्कार इन्टरनेशल स्कुलले गर्न लागेको हो ।

वि.सं. २०७९ सालमा काठमाडौँ उपत्यकाको टोखा नगरपालिकामा स्थापित ज्ञान संस्कार इन्टरनेशनल स्कूलले नेपाली शिक्षाको क्षेत्रमा जीवनोपयोगी संस्कार सहितको शिक्षा दिएर विशेष योगदान पुर्याउँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !