काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ अन्तर्गत आज भएको खेलमा कर्णाली याक्सले विराटनगर किङ्ग्सलाई चार विकेटले पराजित गर्दै जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
कर्णालीको जितमा कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ६२ रनको योगदान दिए । उनले ३२ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै पवन शर्राफले ३६,अरिफुल इस्लमकले ३२, गुल्सन झाले २८ तथा दिपक डुम्रेले २० रन बनाए । बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र प्रतिश जिसीले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८६ रनको योगफल बनाएको थियो । विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ५२ बलमा तीन चौका र नौ छक्का प्रहार गर्दै ८७ रनको योगदान गरेका हुन् ।
यसैगरी आन्द्रे रसेलले १५ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा चार चौकाको सहायाताले ३१ रन बनाए । बासिर अहमदले सात बलमा १३ रन बनाए । शेहान जयसूर्याले ११ रनको योगदान दिए ।
बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए । मार्क वाट र नन्दन यादवले समान एक/एक विकेट लिएका थिए ।












