२३ बैशाख २०८१, आइतबार

कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना


मौसम

काठमाडौँ । कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ ।

अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !