चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम Nepalpatra
१६ मंसिर २०७७, मंगलबार

चितवनको वाल्मीकिको साधनाभूमि र सीता आएर बसेको स्थल वाल्मीकि आश्रम


वाल्मीकि आश्रम

पृष्ठभूमि : रामायणका रचनाकार वाल्मीकिको साधनाभूमि वाल्मीकि आश्रम लोकप्रिय भएर पनि यसमा सरकारको ध्यान गएको देखिँदैन । भगवान् रामले त्यागेपछि सीता आएर बसेको वाल्मीकि आश्रममै ऋषि वाल्मीकिले संस्कृतमा रामायण लेखेको विश्वास गरिन्छ ।

परिचय

चितवन जिल्लाको चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको नेपालको एक महत्वपूर्ण धार्मिक, पौराणिक तथा ऐतिहासिक स्थल वाल्मीकी आश्रम हो । वाल्मीकि आश्रम चितवन जिल्लाको माडी नगरपालिका वडा नम्बर-१ मा पर्दछ । यही स्थानमा यज्ञ गरेका वाल्मीकिले रामायण लगायत काव्य रचना गरेको भनाइ छ । भारतको लागि भने आश्रममा पुग्न धेरै नै सहज छ । भारतले आश्रममा पुग्ने बाटो कच्ची नै भएपनि धेरै सहज बनाएको हो ।

महत्व

चितवनवासीका लागि यो हीरा भने हुन्छ तर नेपालीले हीरा चिन्नै सकेनन् । नेपालको उत्तरको सगरमाथा ग्रेटवाल भएजस्तै यो दक्षिणको ग्रेटवाल मान्न सकिन्छ ।

इतिहास

वाल्मीकि आश्रमको इतिहास १७ लाख ५० हजार वर्ष पुरानो भनेर लेखिएको छ । सीता उनै तपोधन वाल्मीकि आश्रममा रहेर दुई पुत्रलाई जन्म दिएर धनुर्विद्यामा पारंगत गराएको र अश्वमेध यज्ञमा छाडिएको घोडा त्यसै वाल्मीकि आश्रममा आइ पुगेर लवकुशले बन्दी बनाएपछि घोडा छुटाउन स्वयम् राम वाल्मीकि आश्रममा आएको र रामका पुत्र लवकुशलाई जिम्मा लगाएर सीता त्यसै भूमिमा समाहित भएको कथा रामाश्वमेघ काण्डमा लेखेका छन् भनिएको छ ।

तत्कालीन राजा महेन्द्रले २०२२ सालमा यस आश्रमप्रति चासो बढाएका कारण त्यतिबेला जे संरचना बने अहिले त्यो भन्दा सुधार हुन सकेको छैन । नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा निर्क्यौल गरेको वाल्मीकि आश्रम माडी नगरपालिका वडा नम्बर-१ मा पर्दछ ।

धार्मिक तथा सांस्कृतिक महत्व

सीताको पाताल प्रवेशस्थल, अमूल्य गौरीशंकर शंख, हवनद्धार स्मारक, लवकुशको जन्मस्थल, सीताको सिलौटो, लवकुशले घोडा बाँधेको खम्बा, अठासी हजार ऋषिहरुले हवन गरेको कुण्ड, सीताले फल खाने स्थान, लवकुशको शिक्षा प्राप्तिस्थल, पानी पिउने गरेको पुरानो इनार र अन्य पुरातात्विक धार्मिक स्थल अवशेषका रूपमा रहेका छन् । नेपाल र भारतका हजारौ पर्यटक आश्रममा आउने गरेका छन् । संसारमा विरलै देखिने हनुमानले एउटा घुँडा टेकेको मूर्ति सीताको मन्दिर बाहिर प्रतिस्थापित छ । नेपाल र भारतको सिमानामा पर्ने यो आश्रममा नेपाली भन्दा भारतीय धार्मिक पर्यटकहरु बढी आउने गरेका छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

त्रेतायुगको कथा जोडिएको यो स्थानमा कुख्यात डाँकु रहेका रत्नाकरले ब्रह्मज्ञान प्राप्त गरेर महर्षि वाल्मीकि बनेका थिए । उक्त क्षेत्रसँग सीता र लव-कुशको प्रसङ्गसमेत जोडिन्छ । हिन्दुको पौराणिक महत्व बोकेका छ आश्रमको रामायणमा पनि वर्णन छ ।

किंवदन्ती अनुसार गर्भिणी भएर वाल्मीकि आश्रममा पुगेकी सीताले लवकुशलाई सो क्षेत्रमा जन्म दिएकी थिइन् । उनीहरुको शिक्षादीक्षासमेत सोही स्थानमा भएको थियो । सोही ठाउँबाट सीता पातल भासिएको भन्ने भनाइसमेत छ ।

पर्यटन प्रर्वद्धन

यस आश्रमको उचित संरक्षण हुन नसक्दा धार्मिक पर्यटकका लागि लोकप्रिय क्षेत्र ओझेलमा पर्दै गएको जनगुनासो छ । वाल्मीकी आश्रमको उचित प्रचारप्रसार र विकास हुन नसक्दा ओझेलमा परेको छ । वाल्मीकी आश्रमको उचित विकास हुन नसक्नुको मुख्य कारण प्रचार–प्रसारको अभाव र विकट भौगोलिक अवस्था हो ।

पर्यटकिय सम्भावना

भएका पुराना संरचनाको संरक्षण, खानेपानी, विद्युत, शौचालय र आवत(जावतका लागि सहज हुने हो भने वाल्मीकि आश्रम नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र बन्ने स्थानीय सरोकारवाला बताउँछन् ।

आकर्षणहरू

आश्रम आसपासमा पुरानो इनार, सीताले प्रयोग गरेको सिलौटो र लोहोरो, गाग्री राख्ने राख्ने ढुङ्गा, लव–कुशको जन्मस्थल, लवकुशले अश्वमेध यज्ञको घोडा पक्रिएर बाँधेको खम्बा, वाल्मीकी ऋषिले लवकुशलाई शिक्षा प्रदान गरेको स्थल (पाठशाला) जस्ता पुरातात्विक धार्मिक वस्तु, ८८ हजार ऋषिहरुले हवन गरेको कुण्ड, विष्णु चक्र, प्राचिन हवनद्वार लगायतका पुरातात्विक स्थल र वस्तुहरुको अवलोकन गर्न सकिन्छ ।

समस्याहरु

यस धार्मिक स्थलमा नेपालबाट सोझै पुग्ने बाटो नहुँदा धार्मिक पर्यटकको संख्यामा समेत कमी हुँदै गएको छ । आश्रमलाई त्रिवेणीधामसँग जोड्नका लागी प्रयास भएपनि चितवन राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पुल अझैसम्म निर्माण हुन सकेको छैनन् । केही समय पहिला त्रिवेणीको गजेन्द्र मोक्षधामबाट नारायणीमा झोलुंगे पुल बनाउने पहल समेत भएको थियो । नेपाल र भारत दुवै देशका पुरातत्वविद्को संयुक्त टोलीले सन् १९६५ मा प्राचीन वाल्मीकी आश्रम यहाँ रहेको पत्ता लगाएको सामानहरु समेत यतिबेला खतरा बन्दै गएको छ । पुरातात्विक वस्तुहरुलाई चलाउने, केर्ने र मेट्ने गर्दा तीनको अस्तित्व नै नाश हुने खतरा रहेको छ भने ती वस्तुहरुको रेखदेखका लागि आश्रममा कोही पनि छैनन् ।

कसरी पुग्ने ?

नवलपरासी जिल्लाको त्रिवेणीमा रहेको गण्डक ब्यारेज पुल तरेर भारतको वाल्मीकी नगर हुँदै डुंगा तरेर एक घण्टा जंगलको बाटो पैदल हिंडेर मात्रै नेपालको बाटो हुँदै आश्रममा पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्  

चितवनको सुन्दर गन्तव्य पटिहानी पर्यटकीय क्षेत्र

स्वर्गको टुक्रा जस्तो बन्दै चितवन माडीको पर्यटकीय गन्तव्य सोमेश्वोर गढी



प्रतिक्रिया दिनुहोस !