२२ जेष्ठ २०८३, शुक्रबार

नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल


नयाँ दिल्ली पुगे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् । आजबाट भारत भ्रमणमा रहेका मन्त्री खनाललाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरे ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् । उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताएका ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । पार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताइएको छ ।

नयाँ सरकारको प्राथमिकताका विषयमा पनि भारतसँग छलफल हुने उनको भनाइ छ । उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु