काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार नढल्ने र आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका छन् । आज शुक्रबार भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले छिट्टै प्रधानमन्त्री बन्न लागेको भन्ने प्रश्नमा केही नबोल्ने बताए । भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भनेर प्रश्न गरिएको थियो। त्यसको जवाफमा सभापति लामिछानेले भने, ‘म केही भन्न चाहन्न।’
त्यसपछि भने सभापति लामिछानेले विस्तारमा कुरा गरे। उनले स्थिर सरकारको पक्षमा रहेको बताए। ‘निर्वाचन अघि हामीले लेखेको कागज एक पटक पढ्न भन्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ। हामी स्थिरताको पक्षमा छौँ,’ उनले भने।
जनताले स्थिर सरकारको पक्षमा मतदान गरेको उनको भनाइ थियो। ‘नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हुन्। हामीले बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ,’ लामिछानेले भने।












