१५ असार २०८१, शनिबार

चितवनको सुन्दर गन्तव्य पटिहानी पर्यटकीय क्षेत्र


पटिहानी पर्यटकीय क्षेत्र

पृष्ठभूमि : राप्ती नदीसंगै जोडिएको रमणीय ठाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जिप सफारी गर्न सक्छन् । चितवन राष्ट्रिय निकुञ्जका धेरैजसो दुर्लभ वन्यजन्तु हेर्न पनि पटिहानी सुहाउँदो ठाउँ हो ।

परिचय

पटिहानी चितवन जिल्लाको भरतपुर महानगर(२२ मा पर्दछ । नारायणगढबाट १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानी क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । भरतपुर महानगरपालिका-२२ मा रहेका वीरेन्द्रनगर मध्यवर्ती सामुदायिक र बेल्सर मध्यवर्ती सामुदायिक बन पर्यटक आकर्षणका केन्द्र बन्दै गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा चितवन जिल्लाको पटिहानी पर्यटकीय क्षेत्रलाई पनि छनोट गरेको छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

बिशेषगरी पर्यापर्यटन र धार्मीक पर्यटकहरुका लागि पटिहानी उत्तम बिकल्पका रुपमा रहेको छ । आदिवासीहरुको बसोबास रहँदै आएको यस क्षेत्रमा धार्मिक रुपमा सीता माई देवालय स्थल लगायत विक्रम बाबा, कमलपोखरी, शिवालय मन्दिर, गुम्बा आदि महत्वपूर्ण स्थलहरु पर्दछन् । सितामाई मन्दिरलाई राष्ट्रिय निकुञ्जमा पर्ने बिक्रमबाबा मन्दिरको बहिनीको रुपमा लिइन्छ । राप्ती नदीसँगै जोडिएको रमणीय गाउँ पटिहानीमा पुग्नेले आदिवासी थारु संस्कृतिसँगै राप्ती नदीमा डुंगा चढेर घुम्न र जीप सफारी गर्न सक्छन् ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

बिक्रमबाबा मन्दिर दर्शन गर्नेले अनिवार्य सितामाई मन्दिरको दर्शन गर्नुपर्ने किम्बदन्ती रहेको छ । बिशेषगरी सन्तान नभएकाहरुले सो मन्दिरको दर्शन गरे सन्तान प्राप्त हुने जनबिश्वास रहेको छ । बोटे तथा माझी समुदायको प्राचीन ईतिहाससंग सितामाई मन्दिर जोडिएको हो ।

प्राकृतिक सौन्दर्य

चितवन राष्ट्रिय निकुञ्जको मुख्य तालहरु पटिहानीमा छन् । जीप सफारी गर्ने आकर्षक केन्द्र पनि यही छ घडियाल गोही पनि यही ठाउँमा छ । बेल्सर सामुदायीक बनले पर्यटक आकर्षणका लागि पटिहानीदेखी सौराहको हात्ती प्रजनन केन्द्रसम्म जीप सफारी गराउने गरेको छ ।

पर्यटकीय महत्व

कुनै समय राप्ती खोलाले पीडित बनाएर बस्ती समेत बस्न नसकेको क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा परेको छ । २०५९ सालमा आएको बाढीको सकसपछि खोलालाई तटबन्ध गरेसँगै पटिहानीमा चहलपहल बढेको थियो । चितवन राष्टिय निकुञ्जको काखैमा रहेको पटिहानी अहिले जोकोहीका लागि लोभिने क्षेत्रको रुपमा परिचित छ । अहिले करोडौं लगानीका पर्यटकीय होटल बनेका छन ।

केही निर्माणको चरणमा छन । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकैको पटिहानीमा पनि पर्यटकीय आकर्षण कम छैन । पटिहानीको घटगाई क्षेत्र सूर्यास्त हेर्ने राम्रो ठाउँ हो । राप्ती नदी किनारमा सातवटा ठूलासहित २१ वटा होटल छन् । काठमाडौं, पोखरा लगायतका ठाउँका व्यवसायीका होटल पटिहानीमा थपिने क्रम छ ।

पर्यटकीय सम्भावना

पछिल्लो समय पटिहानी गाविस र त्यस आसपासका क्षेत्रहरु नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । पटिहानी क्षेत्रमा करोडौंको लगानीमा ठूला होटलहरु खुलेका छन् । यस क्षेत्रमा पर्यटकको आवागमन बढेसँगै होटल व्यवसायीहरु पनि पर्यटकको चाहनाअनुसार होटल निर्माणमा व्यस्त छन् । यो क्षेत्रमा ठूला साना गरेर २६ वटा होटल तथा रिर्सोटहरु खुलेका छन् । पाँच लाखदेखि ५५ करोड लगानीमा होटल निर्माण गरिएको छ । त्यस्तै २६१ जनाले प्रत्यक्ष रोजगार पाएका छन् ।

पटिहानीको धनौजीमा पटिहानी पर्यटन सूचना केन्द्रको उद्घाटन समेत गरिएको छ । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्येको महत्वपूर्ण गन्तव्य पटिहानीमा सूर्यास्त दृश्यावलोकन सहित पर्यटक रमाउनका लागि सप्तरङ्गी छाता राख्ने ठाउँ निर्माणको काम शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २२ ले ‘अम्ब्रेला स्ट्रीट विथ सनसेट भ्यू प्वाइन्ट’ निर्माणको काम सुरु गरेको हो ।

जैविक विविधता

बाघ, गैडा र अरु जंगली जनावरको वासस्थान पनि यही छ, सूर्योदय र सूर्यास्त पनि यहाँबाट अवलोकन गर्न सकिन्छ । कुनै सयम बाढीले बगरमा परिणत गरेको क्षेत्रमा हरियाली छ । थुप्रै तालतलैया, घाँसे मैदान छन । सामुदायिक वनमा दैनिक १० वटा हात्तीले पर्यटक डुलाउँछन ।

कसरी पुग्ने ?

नारायणगढबाट करिव १४ किलोमिटर दक्षिणमा पर्ने पटिहानी सजिलैसंग गाडीमा पुग्न सकिन्छ ।

तस्वीर : दीपेन्द्र अधिकारी, नयाँ पत्रिका

यो पनि पढ्नुहोस्  

स्वर्गको टुक्रा जस्तो बन्दै चितवन माडीको पर्यटकीय गन्तव्य सोमेश्वोर गढी

चितवनको सुन्दर पर्यटकीय गन्तव्य बीस हजारी ताल

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !