४ बैशाख २०८१, मंगलबार

मकवानपुरमा रहेको पृथ्वीनारायण शाहको ससुराली घर मकवानपुरगढी


मकवानपुरगढी

पृष्ठभूमि : मकवानपुरगढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनीतिक महत्वको स्थान हो । मकवानपुर गढी सेन वंशीय राजाहरूको विरासत हो । करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो हो । करीव अढाइ सय वर्ष पुरानो अग्लो डाँडाको टुप्पामा वरिपरि चारैतिर अग्लो पर्खालले घेरिएको यो मकुन्दसेनको दरबार नै पृथ्वीनारायण शाहको ससुराली घर पनि हो ।

परिचय

ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्पूर्ण रहेको यो गढी आजको मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्व मकवानपुरगढी गाउँपालिकामा पर्छ । नेपालमा ठूला-साना गरी करीब दुईसय गढी छन् । ती सबैका आ-आफ्नै महत्व छन् । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्व फरक छ । मकवानपुर गढीमा प्रयोग गरिएका शिलाहरू कति परिश्रमले, कसरी त्यहाँ पुर्याइए होलान्, अहिले हेर्दा आश्चर्य लाग्छ । गढीमा प्रयोग गरिएका ढुंगा, इँटा लगायतका वस्तुहरूले चीनको ’ग्रेटवाल’ को झ्ल्को दिन्छ ।

नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा मकवानपुर जिल्लाको मकवानपुरगढीलाई पनि छनोट गरेको छ ।

इतिहास

सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए । काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीति अनुसार उनको रोजाइमा मकवानपुर परेको थियो । नेपाल एकीकरणमा मकवानपुरगढीको महत्व यसले देखाउँछ । ९ भदौ, १८१९ मा पृथ्वीनारायण शाहको फौज विजय भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँ सहित भागेर बंगाल पुगेका थिए, नवाव मिरकासिमसँग सहयोग माग्न ।

दिगबन्धन सेनले मिरकासिमको सहयोगमा दुईहजार लडाका र एक हजार बन्दो बस्तीसहित ३००० फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुर गढीमा १० माघ १८१९ मा आक्रमण गरे । गढीमा उक्लिने क्रममा सिकरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो । त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए । गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियार सहित सघाएका थिए । इतिहासकारहरूका अनुसार उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका १७०० सैनिक मारिए भने बाँकी भागेर गए । नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाको हात पर्यो ।

दिगबन्धन सेनले तीन कारणले मकवानपुरगढीमा पुनः प्रत्याक्रमण गरेका थिए । पहिलो त उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे । दोस्रो, मकवानपुरगढीमा अंग्रेजको पनि चासो जोडिएको थियो । भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरूसँगको अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो । तेस्रो, उपत्यकाका मल्ल राजाहरू पनि मकवानपुरबाट गोर्खालीहरू धपाइएको हेर्न चाहन्थे । त्यसरी मकवानपुर प्रत्याक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो ।

यो युद्ध मकवानपुरगढीका सेना नायक सरदार नन्दु शाह थिए । उनीसँग ४०० जति सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रो लगायत रहेका थिए । त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जस्ले शत्रुलाई अचम्मित पारी रहेको थियो । नेपाली सेनाले राति आक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्ज्याङमा राखेको थियो ।

प्रर्यटकीय सम्भावना

यस्तो ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्छ । चीन, भारत लगायतका मुलुकले यस्ता ऐतिहासिक स्थलहरूको संरक्षण गरेर पर्यटनमा राम्रो सफलता हासिल गरेका उदाहरण काफी छ ।

कसरी पुग्ने ?

हेटौँडाबाट करीव १७ किलोमिटर पूर्वमा महाभारत डाँडाको टुप्पामा मकवानपुरगढी रहेको छ । मोटर बाटो हुँदै त्यहा पुग्न सकिन्छ । काठमाडौंको बल्खुबाट कुलेखानी हुँदै हेटौंडासम्म ८० किमि ४ घन्टामा जीपमा मकवानपुरगढी पुग्न सकिन्छ ।

तस्वीर : मकवानपुर उद्योग वाणिज्य संघ 

यो पनि पढ्नुहोस्  

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रानी झरना क्यानोनिङ

धादिङको सुन्दर पर्यटकीय गन्तव्य रुवी भ्याली

रसुवा जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तव्य रसुवागढी

नुवाकोटको धार्मिक पर्यटकीय स्थल दुप्चेश्वर महादेव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !