१२ बैशाख २०८१, बुधबार

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा


ट्याम्के डाँडा

पृष्ठभूमि : ट्याम्के क्षेत्रमा भने खोटे नाम गरेका किराँती राजाले राज्य गरे । ट्याम्केबाट सूर्योदय र सूर्यास्तको दृश्यका साथै हिमाल, पहाड, तराई देख्न सकिने भएकाले खोटे राजाले यसलाई आफ्नो महत्वपूर्ण किल्ला बनाएका थिए । त्यसबेला खोटे राजाले यसलाई टेम्मा भन्ने गर्दथे । किराँती भाषामा अग्लो र समथर भागलाई तेर्पाचुङ (टेम्मा) भनिन्छ । यही तेर्पाचुङ (टेम्मा) बाट अपभ्रंश भई ट्याम्के नाम रहन गएको जानकारहरूको भनाइ छ ।

परिचय

भोजपुर जिल्लाको ट्याम्के मैयुङ गाउपालिकामा अवस्थित ट्याम्के डाँडा प्राकृतिक सुन्दरताले भरिपूर्ण भोजपुर र खोटाङको संगम स्थलमा पर्ने ठाउँ हो । भोजपुरको साविकको गोगने, लेखर्क, खावा, नागी र खोटाङको खिदिमा, च्याँनडाँडा र रतन्छा गाविस बीचमा पर्ने ट्याम्के प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रूपले विशिष्ट पहिचान र महत्व बोकेको ठाउँ हो ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा भोजपुर जिल्लाको ट्याम्के डाँडालाई छनोट गरेको छ । सरकारले यसलाई मुन्धुम ट्रेयलको रुपमा विकास गर्ने भएको छ ।

धार्मिक महत्व

यस डाँडामा सिद्धेश्वर महादेव, महांकाल देवी लगायतका मन्दिर रहेका छन् । ट्याम्के डाँडामा हरेक वर्ष बालाचतुदर्शी र शिवरात्रिका दिन भव्य मेला लाग्ने गर्छ । ट्याम्केमा मेला भर्न राजधानी लगायत छिमेकी देशहरूबाट समेत भक्तजन आउने गरेका छन् । यहाँ हिन्दु, किराँत, बौद्ध लगायतका धर्मालम्बीहरूको उपस्थिति रहने गरेको छ । यहाँ लाग्ने मेलामा सतबीज छर्न समेत धेरै धर्मालम्बीहरू आउने गरेका छन् । त्यस्तै, मेलामा धामी–झाँक्रीको प्रदर्शन कम्ती रोचक लाग्दैन ।

ऐतिहासिक महत्व

इतिहास र अनुसन्धानकर्ताका अनुसार करिब १६ औं शताब्दीतिर किराँतीहरूले काठमाडौं उपत्यकाबाट धुलिखेल हुँदै सुनकोसी, दूधकोसी, तमोर, अरुणपूर्वदेखि सबै भू-भागमा क्याम्प खडा गर्दै लगे र ट्याम्के आसपास क्षेत्रमा पनि किराँतीहरूले शासन सुरु गरे ।

पौराणिक मान्यताहरु

यो डाँडामा आएर दही चिउरा खाँदा मृत्युपछि स्वर्गवास पुग्ने किंवदन्ती रहेको छ ।

प्राकृतिक सौन्दर्य

भोजपुरको पर्यटकिय स्थल ट्याम्के डाँडाबाट मनोरम हिमश्रृङ्खला तथा तराईको समथर ठाउँ देख्न सकिन्छ । यहाँबाट विश्वको सर्वाेच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर लगायतका दर्जनौं हिमशृंखलाको मनोरम दृश्यवलोकन गर्न सकिन्छ । त्यस्तै मंसिरे पूर्णिमाका दिन चन्द्रोदय र सूर्यास्त एउटै समयमा यो ठाउँबाट देख्न सकिन्छ । यहाँबाट सूर्याेदय दार्जि्लिङको टाइगर हिलभन्दा प्रस्ट रूपमा देख्न सकिने अनुभवीहरूको भनाइ छ । त्यस्तै यहाँबाट उदाउँदो र अस्ताउँदो सूर्यको राम्ररी दृश्यवलोकन गर्न सकिन्छ ।

मौसम सफा भएका बेला सिक्किम, दार्जि्लिङ, कालेम्पोङ, सिलिगुढी, भुटान लगायतका सहरहरू देख्न सकिन्छ । यहाँबाट इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु लगायतका जिल्लाहरू प्रष्टै देख्न सकिन्छ । यस्तै चैत वैशाखमा फुल्ने विभिन्न प्रजातिका गुराँस अनि चाँपको दृष्य मनमोहक हुन्छ ।

जैविक विविधता

ट्याम्के आसपासका जंगलमा दुम्सी, मृग, सालक, मुनाल, घोरल लगायतका दर्जनौ पशुपन्छीहरूको बासस्थान रहेको छ । यस क्षेत्रको जंगलमा चिराइतो, मजिठो, ठुलोओखती, पाखनभेद, नागबेली वनकरेला, मुसेकरेला, सतुवाजराजस्ता प्रशस्त मात्रामा जडिबुटी पाइन्छ । यस ठाउँको अर्काे आकर्षण भनेको गुराँसको सिजनमा यस क्षेत्रमा ढकमक्क फुल्ने लालीगुराँस हो । यहाँ थुप्रै प्रजातिका गुराँसहरू फुल्ने गरेका छन् ।

पर्यटकिय सम्भावना

पर्यटकीय सम्भावना बोकेको ट्याम्के डाँडा किराँत भूमिको लगभग मध्य विन्दुमा पर्दछ । ट्याम्के डाँडा नजिक चखेवा भन्ज्याङ हुँदै पूर्व पश्चिम मध्यपहाडी लोकमार्ग सञ्चालनमा आइसकेको छ । प्रकृतिले भरपुर मात्रामा यी क्षेत्रलाई दिएपनि राज्यले भने केही दिन सकेको छैन । प्राकृतिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय रूपले यति सम्पन्न हुँदाहुँदै पनि भौगोलिक रूपमा विकट क्षेत्रमा रहेकाले ट्याम्केको संरक्षण र विकास हुन सकेको छैन । खोटाङ र भोजपुरको सिमानामा रहेको ट्याम्के डाँडालाई राज्यले बेवास्ता गरेको यहाँका स्थानीयवासीहरूको गुनासो छ ।

कसरी पुग्ने ?

खोटाङ सदरमुकाम दिक्तेलदेखि ५० किलोमिटर पूर्व र भोजपुर सदरमुकामदेखि करिब ५५ किलोमिटर पश्चिममा ट्याम्के डाँडा पर्छ । खोटाङ सदरमुकाम दिक्तेलदेखि ट्याम्केसम्म करिब ५० किलोमिटर र भोजपुर सदरमुकामदेखि ट्याम्केसम्म करिब ५५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । सडक निर्माण सँगै ट्याम्के डाँडा नजिकै चखेवा भन्ज्याङसम्म हिउँदको समय सवारी साधन पुग्न थालेका छन् ।

काठमाडौँबाट भोजपुर वा खोटाङका विमानस्थलमा जहाजबाट ओर्लिएर सडक यातायातको माध्यमबाट यो ठाउँमा पुग्न सकिन्छ । जहाजबाट झरेपछि पैदलयात्रा गरेर पनि यो ठाउँसम्म पुग्न सकिन्छ । सडक यातायातबाट इटहरी, धरान, धनकुटा, हिले, लेगुवाघाट, भोजपुर बजार हुँदै यो ठाउँसम्म पुग्न सकिन्छ । त्यस्तै उदयपुर, घुर्मी, दिक्तेल बजार हुँदै पनि यो ठाउँसम्म पुगेर आनन्द लिन सकिन्छ ।

यो पनि पढ्नुहोस् 

धार्मिक पर्यटकीय गन्तव्य पिण्डेश्वर-दन्तकाली पदमार्ग

पूर्वाञ्चलकै मुख्य पर्यटकीय गन्तव्य भेडेटारको नमस्ते झरना

घुम्न जाने होइन झापाको धार्मिक तथा पर्यटकीय गन्तव्य अर्जुनधारा

घुम्न जाने होइन मोरङको प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थल विराट राजाको दरवार

दर्शन गरौ मनका अधुरा इच्छा एवं कामनाहरू पूरा गरिदिने ताप्लेजुङको पाथीभरा देवी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !