पृष्ठभूमि : मनै लोभ्याउने ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङफुङे झरना । ३०० मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामाकरण फुङफुङे भएको हुनुपर्दछ ।
परिचय
ताप्लेजुङ सदरमुकामबाट १ दिनको पैदल दुरीमा पर्ने मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खेलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा ताप्लेजुङ्ग जिल्लाको फुङफुङे झरनालाई पनि छनोट गरेको हो ।
धार्मिक तथा सांस्कृतिक महत्व
यो झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभै पर्यटकीय र धार्मिक महत्व बोकेको छ । झरनालाई शक्तिको प्रतिक मानेर हुनुपर्दछ झरनाको फेदी नजिकै फुङफुङे देवीको पुजास्थल पनि राखिएको छ । यहाँ देबीको पुजा गर्न भक्तजनहरु जाने गर्दछन ।
प्राकृतिक सौन्दर्य
यो झरनाको मनमोहक दृश्यले जो कोहीलाई मोहित पार्दछ । पर्यटकीय विकासको प्रचुर सम्भावना रहेको फुङफुङे झरना पर्यटकका लागि आकर्षक बन्ने पक्का छ ।
पर्यटन प्रर्वद्धन
भारत र चीन जोड्ने सबैभन्दा छोटो सडक तमोर करिडोर निर्माणाधीन छ । उक्त सडक निर्माण सकिएपछि पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ, झरना आसपासका बासिन्दाको । अहिले भने त्यहाँसम्म सजिलै पुग्न सकिँदैन । केही वर्ष अघि फुङफुङे महोत्सव समेत आयोजना गरिएको थियो ।
पर्यटकीय सम्भावना
पर्यटन प्रर्वद्धनका हिसावले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा सडक लगायतका भौतिक पुर्वाधारको निमार्ण सँगै प्रचार–प्रसारमा सबै सरोकारवालाले ध्यान दिन सके वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्ने देखिन्छ ।
समस्याहरु
आवश्यक पूर्वाधार विकास र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा उचित प्रचार-प्रसार हुन नसक्दा ताप्लेजुङको फुङफुङ्गे झरना आझेलमा परेको छ । तर झरनामा जानका लागि सडक यातायातको सुविधा भने छैन जसले यो सौन्दर्य कुनामै गुमनाम बन्न पुगेको छ ।
कसरी पुग्ने ?
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट उत्तरतर्फ मिक्वाखोला गाउँपालिकामा पर्ने उक्त झरना रहेको स्थानमा पुग्न सदरमुकामबाट पूरै एकदिन लाग्दछ र अलि पैदल हिड्न सक्नेहरु भने ५ घण्टा जतिमा पुग्दछन् ।
घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !
यो पनि पढ्नुहोस्