१३ बैशाख २०८१, बिहिबार

जाने होइन ताप्लेजुङको सुन्दर तिम्बुङ पोखरी


तिम्बुङ पोखरी

पृष्ठभूमि : लिम्बु भाषाको तेम्बकबाट तिम्बुङ पोखरी नाम रहन गएको बताईन्छ, जस अनुसार ते भनेको बन्दुक र बुङ भनेको पड्किएको आवाज भन्ने बुझिन्छ । केहीले भने लिम्बु भाषामा तिम्बु भनेको टिलपिल भरिएको भन्ने अर्थ रहेकाले तिम्बुङ पोखरी नामाकरण भएको पनि बताउने गरेका छन् । पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै गरी आवाज आउने गरेको बताइन्छ । उक्त पोखरीमा टिलपिल भएर पानी भरिएको वर्ष अन्नपात उत्पादनमा वृद्धि हुने कुरामा स्थानीयको विश्वास रहेको पाइन्छ । अर्कोतिर पोखरीको दर्शन गरे चिताएको पूरा हुने र भए गरेका पापबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ ।

परिचय

प्राकृतिक सौन्दर्य र धार्मिक, जैविक तथा सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरी पूर्वी नेपालको ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अन्तर्गत साविकको कालिखोला गाविसमा पर्छ । ४४८१ मिटरको उचाइमा रहेको पोखरी ४६६ मिटर उत्तर दक्षिण लम्बाई र १५४ मिटर पूर्व–पश्चिम चौडाई रहेको छ । धार्मिक आस्था केन्द्र अग्लो ठाउँमा अवस्थित पोखरीलाई चट्टाने पहाडले घेरेको छ । फाट्टफुट्ट रहेका गोठमा पाइने न्यानो आतिथ्य, चौंरीको दूध र गोठालासँग गोठमै बास बस्नुको मज्जा बिर्सन सकिँदैन ।

धार्मिक तथा सांस्कृतिक महत्व

धार्मिक आस्थाको धरोहर तिम्बुङ पोखरीलाई पूर्वको मुक्तिनाथ पनि भनिन्छ । बर्षेनी नाग पञ्चमी र जनै पूर्णिमाको दिन भने निकै भिड लाग्ने गरेको छ ।

जैविक विविधता

३०० भन्दा धेरै हिमतालहरुमध्ये तिम्बुङ पोखरी धर्मिक, जैविक तथा साँस्कृतिक महत्वको सिमसार क्षेत्र हो । सिमसार सम्बन्धी जैविक सञ्चारको छाँयामा परेको तिम्बुङ पोखरी कन्चनजङ्गा संरक्षण क्षेत्रभन्दा बाहिर पर्ने पवित्र पोखरी हो । मुलुकका थुप्रै सिमसारमध्ये जैविक बिविधिताको विशाल भण्डार तिम्बुङ पोखरी विश्व संरक्षित सूचीमा रहेको रेड पाण्डा, बहुमूल्य जडीबुटी केन्जो, माइकोपिला, पाँचऔंले, बिखमा, पदमचाल, चिराइतो, यार्सागुम्बा, कुड्की, बुढो ओखती लगायत यस क्षेत्रमा पाइन्छ ।

पर्यटकिय सम्भावना

बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षण गर्ने ताप्लेजुङका धेरै गन्तव्यमध्ये तिम्बुङ पोखरी पनि एक हो । हिमाली क्षेत्रको सौन्दर्यसँग लुकामारी खेल्दै तिम्बुङ पोखरीको दर्शन तथा अवलोकन गर्न जाने तीर्थयात्री र प्रयर्टकको बर्षेनी लर्को लाग्ने गर्छ । तर, एकपटक पुगेपछि फेरि जाऊँ जाऊँ लाग्ने, पुगेर उतै रहूँजस्तो लाग्ने तिम्बुङ पोखरीमा बर्षेनी साउनदेखि असोजसम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गर्छ ।

आकर्षणहरू

यो पोखरी आसपास अरूपनि स–साना थुप्रै पोखरी छन् । हाँडी पोखरी, तावा पोखरी, लक्ष्मी पोखरी, दूध पोखरी, मयूर पोखरी, नीर पोखरी लगायत दर्जनौं पोखरी रहेका छन् ।

प्राकृतिक सौन्दर्य

यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जििलङ लगायत ठाउँ समेत देख्न सकिन्छ । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गईसकेपछि ठाउँठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ ।

कसरी पुग्ने ?

ताप्लेजुङ्ग सदरमुकाम फुङ्लिङबाट पैदल बाटो सुकेटार–लालिखर्क–काँडेभन्ज्याङ्ग–सुरुमखीम–तिम्बुङ पोखरी (करिव ३ दिन)

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस् 

घुम्न जाउँ भादा गाउँ

घुम्न जाऊ सुन्दर कान्ति लोकपथ (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !