११ बैशाख २०८१, मंगलबार

कनकमुनि बुद्धको जन्मभूमि निग्लीहवा


अशोक स्तम्भ

निग्लीहवा (निग्लीसागर) लाई कनकमुनि बुद्धको जन्मभूमि मानिन्छ । जहाँ सम्राट अशोकले शीला स्तम्भ निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ । निग्लिहवामा रहेको अशोक स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो ।

परिचय

निग्लीहवा कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा पर्दछ । कपिलवस्तुको निग्लीहवालाई प्रदेश नं. ५ कै नयाँ पर्यटकीय गन्तव्यको रुपमा छनौट गरिएको छ । पर्यटन मन्त्रालयले देशका ७ वटा प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य विकास गर्ने उद्धेश्य अनुुसार प्रदेश ५ मा निग्लीहवा छनौटमा परेको हो । विश्व सिमसारमा सूचिकृत जगदीशपुर ताल, कनकमुनी बुद्धको जन्मस्थल, अशोक स्तम्भ र बुद्धकालिन संरचना सगरहवा ताल रहेको निग्लीहवालाई प्रदेश ५ कै नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित गरिने भएको छ ।

निग्लीहवामा सबैभन्दा बढि आकर्षित गर्ने विश्व सिमसारमा सूचिकृत जगदीशपुर जलाशय क्षेत्र र निगलीहवास्थित अशोक स्तम्भ रहेका छन् । सिचाई प्रयोजनको लागि निर्माण गरिएको १५७ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा अहिले २ सय बढि प्रजातीका चरा तथा जीवहरु पाइन्छन् । यसैगरी कनकमुनि बुद्धको जन्मस्थलको प्रमाणको रुपमा रहेको निग्लीहवास्थित अशोक स्तम्भ अर्को महत्वपूर्ण क्षेत्र हो ।

ऐतिहासिक मान्यताहरु 

नेपालमा पुरातात्विक अध्ययन तथा उत्खननको शुरुआत सन् १८९५ मा निग्लिहवा (कपिलवस्तु) र अर्को वर्ष लुम्बिनीमा अभिलेख सहितको अशोक स्तम्भ प्राप्तिलाई मान्नुपर्छ । यी दुवै प्राप्तिको श्रेय जर्मन पुरातत्वविद् डा. ए. फूहररलाई दिने गरिएको छ । वास्तवमा, फूहररले चान्स डिस्कभरीको रुपमा ती प्राप्ति गरेका थिए र नेपालको पुरातात्विक अध्ययन-अनुसन्धान चान्स डिस्कभरी भन्दा अघि बढेको विरलै पाइन्छ ।

निग्लिहवास्थित अशोक स्तम्भको कमै चर्चा हुने गरेको छ, जुन सर्वप्रथम भारतका मेजर जसकरण सिंहले देखेका थिए । तिलौराकोटबाट केही किलोमिटर उत्तरमा एउटा पाषाण स्तम्भ रहेको भनेर उनैले दिएको सूचनाको आधारमा डा. फूहरर निग्लिहवा पुगेका थिए । त्यही स्तम्भमा रहेको अभिलेखबाट सो स्थल प्राचीन कपिलवस्तु भनेर यकिन भएको थियो । बौद्ध वाङ्मय र चिनियाँ यात्रीद्वय फाहियान र ह्वेनसाङको यात्रा विवरणमा त्यसको पूर्र्वितर लुम्बिनी हुनुपर्ने उल्लेख थियो । त्यही आधारमा फूहरर निग्लिहवाबाट लुम्बिनीको खोजीमा पूर्व लागेका थिए ।

पर्यटकिय सम्भावना

नमूना पर्यटकीय गन्तव्य विकास गर्न निग्लीहवा छनौट हुनु समग्र जिल्लाको पर्यटन प्रर्बद्धन हुनेछ । निग्लीहवामा रहेका दर्जनौ बुद्धकालीन अवशेषहरु उत्खनन् गरिए यो देशकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य बन्ने आशा गर्न सकिन्छ । लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोटपछि निग्लिहवास्थित अशोक स्तम्भको अवलोकन गर्ने गर्छन् ।

कसरी पुग्ने ?

कपिलवस्तुको तौलिहवाबाट ८ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ ।

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

मनमोहक पर्यटकीय गन्तव्य पञ्चासे

इन्द्रसरोवरको प्राकृतिक सुन्दरतामा भुल्दा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !