१२ बैशाख २०८१, बुधबार

प्राकृतिक सुन्दरताको अनुपम उदाहरण बाजुराको बुढीनन्दा ताल

बाजुराको मनोमहक बुढीनन्दा ताल


बुढीनन्दा ताल

पृष्ठभूमि : बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामाकरण भएको किंवदन्ती छ ।

परिचय

देशकै दोस्रोे अग्लो करिब १६ हजार फिटमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेकोे बुढिनन्दा ताल सुन्दर सम्पदा हो । बुढीनन्दा देवी मन्दिरसँगै चट्टान नै चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अरु ९ वटा ताल पनि छन् । मुख्य तालको उचाई समुन्द्री सतहबाट ४५८१ मिटर रहेको छ ।

बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । मुख्य तालको वरिपरी परिक्रमा गर्न झण्डै डेढ घण्टा लाग्छ । यो ताल ठूला पहाडको बीचमा गोलो आकारमा रहेको छ । यस क्षेत्रमा फूलदह, चरीताल, कैलाश ताल, राक्षेशीताल, मष्टातला, सुनन्दा ताल, बुढीनन्दा ताल लगायतका नौवटा ताल छन् ।

बुढीनन्दा ताल

यो पनि पढ्नुहोस् : गौतमहरूको उद्गमस्थल रूकुम पश्चिमको पर्यटकीय गन्तव्य गोतामकोट

धार्मिक तथा सांस्कृतिक महत्व

बुढिनन्दा ताल पुगेर मनले चिताएको मागेमा पुरा हुने जनविश्वास रहेको छ । जनैपूर्णिमामा त्यहाँ भब्य मेला लाग्छ । बझाङ्ग, बाजुरा, हुम्ला, जुम्ला लगायत भारतको कुमाउ गडवालबाट समेत दर्शनार्थी आउने गर्छन ।

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

ताल तथा मन्दिर रहेको स्थान नजिकै करिब आधा दिनको क्षेत्रमा खाली खुट्टाले हिड्नुपर्ने स्थानीय बासिन्दाहरु बताउँछन् । यस बीचमा चट्टा नै चट्टानमा हिड्नुपर्ने धार्मिक परम्परा छ ।

हरेक वर्ष जनैपूर्णिमाको दिन खाली खुट्टा हिँडेर बुढीनन्दाको दर्शन गर्न जाने गर्दछन् । यस क्षेत्रका बासिन्दामा बुढीनन्दा माईको पूजा तथा आराधनाले चिताएको कुरा पूरा हुने र बुढीनन्दा तालमा स्नान गर्दा सबै पाप पखालिने जनविश्वास छ ।

यो पनि पढ्नुहोस् : मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

प्राकृतिक सौन्दर्य

बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन भदौ महिना हो । बुढीनन्दाका क्षेत्र प्राकृतिक सुन्दरताको अनुपम उहाहरण हो । बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ । प्रकृतिप्रेमी हरेकले एकपटक बुढीनन्दा पुग्नैपर्ने ठाउँ हो । त्यहा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङ्गीचङ्गी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने गर्दछ । सुन्दरताको खानी बुढीनन्दा पुग्दा मन चङ्गा हुन्छ, घोडा भेडाका लस्कर र गाईभैंसीका गोठ देखिन्छ ।

जैविक विविधता

ताल रहेको ठाउँ जाने बाटोमा ठूल्ठूला झरना, कैयौं प्रजातिका रङ्गीचङ्गी फूलहरुले संसारकै सुन्दर बगैंचाहरुको झझल्को दिन्छ । खप्तड राष्ट्रिय निकुन्ज हुँदै रारा जाने पर्यटकका लागि बीचबाटोमा पर्ने क्षेत्र भएकाले पनि यसको महत्व बढेको छ । बाटोमा हिँड्दा मृगका बथान, यार्सागुम्बा, कटुकी, हत्ताजरी, बाह्रजरी र जटामसी लगायतका सयौं जडिबुटी भेटिन्छन् ।

यो पनि पढ्नुहोस् : लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

पर्यटन प्रर्वद्धन

धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले भरिएको यो तालबारे देशका अन्य स्थानबाट समेत चासो व्यक्त हुन थालेको छ । बाटोमा गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्छन् ।

पर्यटकीय सम्भावना

चञ्चल बादल, मनोहर फूल र हरियाली त्रिवेणी जस्तो लाग्ने यो अद्धितिय भूगोल विश्व स्तरीय पर्यटकको गन्तव्य बन्ने हैसियत राख्दछ । धार्मिक आस्था र अपार प्राकृतिक छटाहरुको सुन्दरताले महत्वपूर्ण बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यसबारे चासो बढ्न थालेको छ ।

जिल्लालाई आर्थिक रूपमा माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय स्रोतको प्रयोग जरुरी भएपनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन् ।

यो पनि पढ्नुहोस् : सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

आकर्षणहरू

लौरी बिनायक, खेतीबेती, बर माग्ने डाँडो, गाई गोठ, धौलीगाड, धनभण्डार, छाप्रे पाटन लगायतका मनमोहक ठाउँ बुढीनन्दामा छन् ।

समस्याहरु

तालको लम्बाई, चौडाई तथा गहिराईबारे आधिकारिक तथा विस्तृत अध्ययन भने सरकारी निकायबाट भएको छैन । सुदुरपश्चिमकै चर्चित ताल बुढीनन्दा पनि सरकारी निकायको बेवास्ताले यो तालको पहिचान नै संकटमा परेको छ । यो क्षेत्र आफैंमा मनमोहक र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएपनि राज्यबाट भने संरक्षणका लागि कुनै पहल नभएको देखिन्छ ।

बुढीनन्दा तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेकाले अस्तित्व सङ्कटमा परेको स्थानीयवासीको भनाइ छ । संरक्षण अभावमा तालमा जङ्गली झारपात र बुट्यानले ढाक्दै गएको पाइएको छ । जिल्लाका यी ताल अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बासस्थानको रुपमा प्रयोग भएको पाइएका छन् । बुढीनन्दा तालले प्राकृतिक स्वरूप गुमाउँदै गएपछि चराचुरुङ्गीको बासस्थान पनि सङ्कटमा परेको छ ।

कसरी पुग्ने ?

बुढीनन्दा नगरपालिकामा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चारदिन पैदल हिँड्नुपर्छ । ताल तथा मन्दिर रहेको ठाउँमा पुग्न झण्डै आधादिन खाली खुट्टाले हिँड्नुपर्छ । बाटोमा दुईदिन बास बास्नुपर्छ, त्यो पनि प्राकृतिक गुफाहरुमा । चट्टानमा हिँड्नुपर्ने धार्मिक परम्परा छ । बुढीनन्दा पुग्न नेपालगञ्ज हुँदै कोल्टीको हवाई यात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ ।

स्थानीयहरुका खर्क, धर्मशाला र केही ठाउँमा प्राकृतिक ओडारहरुमा बास बस्दै यहाँसम्म पुग्न सकिन्छ । बाजुराको कोल्टीबाट ४ देखि ५ दिनमा बुढीनन्दा पुगेर फर्किन सकिन्छ ।

यो पनि पढ्नुहोस् 

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !