मौसमपिच्छे रंग बदल्ने सल्यान जिल्लाको अद्भूत दह कुपिण्डे Nepalpatra मौसमपिच्छे रंग बदल्ने सल्यान जिल्लाको अद्भूत दह कुपिण्डे
९ माघ २०७७, शुक्रबार

मौसमपिच्छे रंग बदल्ने सल्यानको अद्भूत दह कुपिण्डे

नेपालको दोस्रो रारा सल्यानको कुपिण्डे दह


कुपिण्डे दह

पृष्ठभूमि : कर्णालीका २१ गन्तव्यमध्ये कुपिण्डे दह अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य हो । सल्यानको पश्चिम क्षेत्रमा रहेको कुपिण्डे दह प्रदेश राजधानी सुर्खेतसँग जोडिएको छ । सल्यानको कुपिण्डे दहलाई नेपालको दोस्रो रारा ताल पनि भनिन्छ ।

परिचय

सल्यान जिल्लाको बनगाँड कुपिण्डे नगरपालिकामा पर्ने कुपिण्डे दह सदरमुकाम खलंगादेखि करिव २४ किमि पश्चिममा पर्दछ । २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको दहको लम्बाइ ८ सय ३४, चौडाइ ५ सय ३, गहिराइ ३४ मिटर छ। समुद्री सतहबाट १ हजार १ सय २० मिटर उचाइमा अवस्थित दहमा ५४ लाख ८२ हजार ५ सय ७४ घनमिटर पानी छ ।

धार्मिक तथा सांस्कृतिक महत्व

वर्षेनी कुपिण्डे दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा-टाढा भक्तजनहरु समेत आउने गर्दछन् । दहकै छेऊमा रहेको बाह्रै महिना बराह देवताको पूजा हुँदै आएको छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र बैशाख शुक्लपूणिर्माका दिन ठूलो मेला लाग्दछ ।

यहाँ आएर पूजा र स्नान गरे चिताएको कुरा पुरा हुन्छ अर्थात निसन्तानलाई सन्तान प्राप्त हुन्छ भन्ने विश्वास रहि आएको छ । दहमा बराहको विषेश पूजा भने महासंक्रान्तिमा हुँदै आएको छ । यहाँ तिहार लगतै मंसिर पूर्णिमामा ठूलो मेलापनि लाग्ने गर्छ । चोखो बलीको हिसावले कुपिन्डोको बली दिने गरिन्छ भने भेडाको राँढे, कुखुरा, हाँस र परेवाको पनि बली दिने प्रचलन छ ।

यो पनि पढ्नुहोस् : लाशलाई टुक्रा-टुक्रा गरेर काटी गिद्धलाई खुवाइने चलन भएको लिमी उपत्यका

ऐतिहासिक तथा पौराणिक मान्यताहरु

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा बराह देवता बासको खोजीमा गाउँमा आएछन् । ती जोगीको रुप धारण गरेका बराह देवतालाई धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरास हुँदै एकजना छोरा भएकी बुढी आमाको घरमा उनी पुगेछन् । बासका लागि आफू आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे ।

बुढी आमाले धानको भुस (ढुटो) को रोटी पकाएर जोगीलाई खान दिइन । त्यसपछि ती जोगीले भनेका रहेछन् ‘ भोलि भाले बास्ने समयमा डाँडामा गएर हेर्नु ।’ विहानी डाँडोमा गएर हेर्दा त्यो गाउँ भएको ठाउँमा पुरै पानीले भरिएको थियो । त्यो पानी माथि कुपिन्डा तैरिरहेको हुँदा नामपनि कुपिन्डे दह रहन गएको भन्ने किम्बदन्ती छ ।

वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन्, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ ।

 कुपिण्डे दह

दहको रहस्य

मौसम अनुसार रङ फेर्नु,बरिपरी जङल भएर पनि तालमा एउटा झार पात नहुनु एस्को बिशेषता हो । कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ । रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन ।

ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन । हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।

प्राकृतिक सौन्दर्य

चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको मनै लोभ्याउने कुपिन्डे दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो ।

कुपिण्डे दहको वरपर स्वच्छ वातावरण उत्तरतिर देखिने हिमशृङ्खला वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे दह, आजभोलि ग्रामीण पर्यटन केन्द्र बनेको छ । सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढेको छ । डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् ।

पर्यटकीय महत्व

ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ ।

पर्यटकीय सम्भावना

कुपिण्डे दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल र त्यहाँ जान पनि सजिलो भएकोले यसले राम्रो पर्यटकीय सम्भावना बोकेको छ ।

जैविक विविधता

दहको वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।

कसरी पुग्ने ?

जिल्ला सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । दाङको तुलसीपुरदेखि सल्यानको सदरमुकाम खलंगासम्म ६५ किलोमिटर कालोपत्रे सडक र बाँकी १ घण्टाको कच्ची सडकको यात्रा पछि पुगिने दहमा दाङ हुँदै अन्य जिल्लाका मानिस पुग्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् 

सतीदेवीको अन्तिम अंग पतन भएको मुगुको धाम छायाँनाथ

सतीदेवीको कण्डयाउलो पतन र दश महाविद्या समेत उत्पत्ति भएको डोल्पाको शक्तिपीठ त्रिपुरासुन्दरी

नेपालकै सबैभन्दा अग्लो कालीकोटको पर्यटकीय गन्तव्य पचाल झरना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !