१२ जेष्ठ २०८३, मंगलबार

प्रधानमन्त्री बालेनद्वारा युरोपेली युनियनका राजदूतसँग सामूहिक भेटवार्ता


प्रधानमन्त्री बालेनद्वारा युरोपेली युनियनका राजदूतसँग सामूहिक भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपालका लागि ईयूका २२ आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुखसँग सामूहिक भेट गरेका छन् । नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डलको दुईदिने नेपाल भ्रमण कार्यक्रम सोमबारबाट नेपाल आएको थियो ।

ईयूको प्रतिनिधिमण्डलले आज मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गरेको हो । नेपाल आएको ईयू प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत र नियोग उपप्रमुखहरू छन् ।

ईयुका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल-ईयु सम्बन्धलाई थप सुदृढ बनाउनु तथा नयाँ सरकारसँग सहकार्यका प्राथमिकता तय गर्नु हो । राजदूत लोरेन्जोले नेपालप्रति ईयुको प्रतिबद्धता पुनः पुष्टि गर्न भ्रमण आयोजना गरिएको बताएकी छन् । उनका अनुसार व्यापार, लगानी, जलवायु परिवर्तन र बहुपक्षीय सहकार्यका क्षेत्रमा थप साझेदारी विस्तार गर्ने विषयमा पनि छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !