२ कार्तिक २०८१, शुक्रबार

विश्व सिमसार क्षेत्रमा सुचिकृत कपिलवस्तुको जगदिशपुर ताल


जगदिशपुर ताल

पृष्ठभूमि : सन् २००३ मा सिँचाइका साथै जैविक विविधताले गर्दा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको यो ताल अन्तराष्टिय महत्व बोकेको ताल हो । विविध जीव तथा वनस्पतिले गर्दा यो ताल जैविक विविधतायुक्त तालको रुपमा चिनिएको छ ।

परिचय

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि ९ कि.मि. उत्तरमा रहेको जगदिशपुर जलाशय कपिलवस्तु जिल्लाको शान, पहिचान र धन हो । १५७ हेक्टरमा फैलिएको जगदिशपुर ताल वि.स.२०४५ तिर सिँचाई प्रयोजनका लागि कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका-९ स्थित यो ताल जैविक विविधताले युक्त ताल हो । यस तालमा विविध जीव तथा वनस्पतीहरु पाइन्छन् ।

विश्व सिमसार क्षेत्रमा समेत सूचिकृत यो जलाशयमा विविध प्रकारका सिमसार जीवहरु पाइन्छन् । यस तालमा १५० भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन् । त्यसैगरी यस तालमा विभिन्न प्रजातिका माछाहरु, कछुवा, भ्यागुता आदि जलप्राणी पाइन्छन् । सिमसार वनस्पतिहरुमा बेहाय, पटेर, कमल, जंगली धान, सिंगडा लगायतका वनस्पतिहरु यस तालमा पाइन्छन् ।

जैविक विविधता

तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । साइबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्के्मिनिस्तान र किर्गिस्तान लगायतका देशबाट यहाँ चराहरु आउने गरेका छन् । ती देशहरुमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न आउने गरेको जनाईएको छ ।

प्राकृतिक सौन्दर्य

चराको सङ्ख्या बढेसँगै आन्तरिक तथा वाह्य पर्यटकलाई समेत लोभ्याउन थालेको छ । ताल छेउमा भिउ टावरमा चढेर दुरबिनको मदतले चरा र वरपरका दृश्यले मन नलोभाउने सायद कोही होला । यतिवेला यस्तै परिदृष्यले लोभ्याउँदै छ जगदिशपुर ताल र तालमा सरर डुङ्गामा चढेर चरा हेर्नुको मज्जा नै बेग्लै छ । जाडो बढेसँगै जगदिशपुर तालमा साइबेरियन चराचुरुङ्गी बढेका छन् । साइबेरियन चरा आउन थालेपछि झनै तालको वातावरण मनोरम बनेको छ ।

पर्यटन प्रर्वद्धन

जगदिशपुर तालको संरक्षण र संवर्धनका लागि जगदिशपुर जलाशय बहुसरोकार मञ्च सक्रिय भएपछि तालमा सरसफाइ, डुङ्गा तथा भ्यू टावरको उचित व्यवस्थापन पाएको छ । सरकारले ५ नम्बर प्रदेशको मूख्य पर्यटकीय केन्द्र घोषणा र डुङ्गाको व्यवस्था पछि पर्यटकको सङ्ख्या बढेको छ । तालमा डुङ्गामा सयर गर्ने व्यवस्था पनि भएकोले आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

चराको राजधानी मानिने कपिलवस्तुको जगदिशपुर तालको संरक्षण र सम्वद्र्धनमा प्रदेश ५ सरकारले चासो देखाएको छ । तालको बीचमा ६० फिट बुद्धको मूर्ति राखिनुका साथै जलाशय वरपरको क्षेत्रलाई सुन्दर बनाइने भएपछि पर्यटकीय क्षेत्रको रुपमा विकास हुने अपेक्षा गर्न सकिन्छ ।

पर्यटकीय सम्भावना

एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको सानको रुपमा रहेको यो जलाशय उचित सरंक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन ।

समस्याहरु

विश्वमै दुर्लभ मानिएका डंगर , खैरो गिद्ध , सेतो गिद्ध , भूँडिफोर , गरुण , सारस लगाएतका प्रजातिका चराहरुको बासस्थान संकटमा परेको छ ।

कसरी पुग्ने ?

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि ९ कि.मि.उत्तरमा रहेको जगदिशपुर ताल सजिलै पुग्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

पर्यटकको आकर्षण बन्दैछ इलामको पानीटार

शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

गौतम बुद्धको मावलीघर रुपन्देहीको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र देवदह

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पाल्पाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तब्य रम्भादेवी मन्दिर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !