३१ भाद्र २०८१, सोमबार

पर्यटक आगमन २५ प्रतिशतले वृद्धि


Tourists

काठमाडौँ, १३ जेठ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यको सम्मुखमा रहेको मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ ।

अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा (स्थलमार्ग हुँदै आएका भारतीय पर्यटकबाहेक) ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या सन् २०१७ को भन्दा २५ प्रतिशतले बढी हो । पछिल्लो समयमा पनि पर्यटकको आगमन राम्रो रहेको सरकारले जनाएको छ ।

पछिल्ला वर्षमा स्थलमार्गभन्दा हवाईमार्गबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको र समग्र अवस्था सुधारिदो रहेकाले भ्रमण वर्षको लक्ष्य प्राप्त हुनेमा आशा जगाएको छ । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा सन् २०१८ मा हवाइमार्ग हुँदै आउने पर्यटक ८२ दशमलव आठ र स्थलमार्गबाट आउने पर्यटक १७ दशमलव दुई प्रतिशत रहेका उल्लेख छ ।

सबैभन्दा बढी भारत, चीन, अमेरिका, श्रीलङ्का र बेलायतबाट पर्यटक नेपाल भित्रिएका छन् । चीन, थाइल्याण्ड र श्रीलङ्बाबाट आउने पर्यटक बढ्दै गएका सर्वेक्षणले देखाएको छ । भारत र चीनबाट आउने हिस्सा तुलनात्मक रुपमा केही कम देखिएपनि आगमन दरमा भने वृद्धि भएको छ ।

पर्यटकको बसाई र खर्च दरमा भने केही कमी आएको छ । सन् २०१७ मा बसाई औसत प्रतिपर्यटक प्रतिदिन १२ दशमलव छ दिन थियो । खर्च प्रतिदिन प्रतिपर्यटक ५४ अमेरिकी डलर थियो तर सन् २०१८ मा औसत बसाई १२ दशमलव चार दिन तथा खर्च ४४ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०७४÷७५ मा पर्यटन क्षेत्रबाट रु ६७ अर्ब नौ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ । चालू आवको फागुनसम्म भने रु ४६ अर्ब ५९ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।

यसवर्ष स्थलमार्गबाट आएका पर्यटक (भारतबाहेक) सबैभन्दा बढी भैरहवा नाका हुँदै ८३ दशमलव तीन प्रतिशत छ । दोस्रोमा रसुवा नाकाबाट ११ दशमलव नौ प्रतिशत आएका छन् । बिदा, मनोरञ्जन र पर्वतारोहणका लागि आउने पर्यटक दुई तिहाइभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ । भ्रमणमा आउनेमा ६० प्रतिशत पर्यटक मनोरञ्जनका लागि नेपाल आउछन् ।

पदयात्रा तथा पर्वतारोहणका लागि १६ प्रतिशत, तीर्थयात्राका लागि १४ दशमलब चार र अन्य उद्देश्यले नौ दशमलब छ प्रतिशत पर्यटक भित्रिने गरेका छन् ।

लुम्बिनीमा आन्तरिक पर्यटकको आकर्षण आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्ने नेपालको प्रमुख गन्तव्यमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मथलो लुम्बिनी रहेको सर्वेक्षणले देखाएको छ ।

सन् २०१७ मा १५ लाख ५२ हजार ५८६ पर्यटकले लुम्बिनीको भ्रमण गरेकोमा सन् २०१८ मा दुई प्रतिशतले कमी भए पनि आकर्षण भने राम्रो रहेको जनाइएको छ ।

लुम्बिनीमा आउने पर्यटकमा ११ लाख ५५ हजार ५४४ आन्तरिक पर्यटक छन् । एक लाख ९२ हजार ४१० भारतीय र एक लाख ६९ हजार १८० अन्य मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् ।

पर्वतारोहणमा पर्यटकको अवस्था

पर्वतारोहणमा समेत पर्यटकको आकर्षण देखिएको छ । सन् २०१८ मा अनुमति लिएका पर्वतारोहण दलको सङ्ख्या २८० र पर्वतारोहीको सङ्ख्या दुई हजार ३३० रहेको आर्थिक सर्वेक्षणमा देखाइएको छ ।

नेपाल पर्वतारोही सङ्घबाट अनुमति लिएकासहित सन् २०१८ मा एक हजार ९१० र पर्वतारोही आठ हजार ६४१ पुगेका छन् । पर्वतारोहणमा छ हजार ५०० मिटर माथिका हिमाल सरकारले र त्यो भन्दा तलका हिमाल सङ्घले रोयल्टी उठाउँदै आएको छ ।

दुवैतर्फ गरेर सन् २०१८ मा रु ५८ करोड १५ लाख रोयल्टी सङ्कलन भएको छ । सबैभन्दा बढी प्रदेश नम्बर १ अन्तर्गतका हिमालबाट मात्रै कूल रोयल्टीको ९० प्रतिशत र गण्डकी प्रदेशबाट नौ प्रतिशत सङ्कलन भएको छ ।

तारे होटल थपिए

एक वर्षमा चार वटा तारे होटल थपिएका छन् । आव २०७४÷७५ मा १२५ तारे होटल रहेकामा २०७५÷७६ को पुस मसान्तसम्ममा १२९ पुगेको छ । अन्य पर्यटकीय होटल, लज तथा रिसोर्ट आव २०७४÷७५ मा ९७७ रहेकामा आव २०७५÷७६ को पुससम्ममा एक हजार १२५ पुगेको छ । यस अवधिमा ३२४ घरबास सञ्चालन भएका छन् ।

तारे होटलको वेड सङ्ख्या गत पुससम्ममा ४४९ ले थपिएको छ । अन्य पर्यटकीय होटलको वेड सङ्ख्या चालू आवको पुससम्ममा २९ हजार १३६ पुगेको छ । क्यासिनो भने एक थपिएर आठ, ट्रेकिङ् एजेन्सी दुई हजार ६४९, ट्राभल एजेन्सी तीन हजार ५०८ र ७२ ¥याफ्टिङ एजेन्सी पुगेको जनाइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !