४ जेष्ठ २०८१, शुक्रबार

हराइरहेको तारा एयरको विमानको खोजी तथा उद्धार कार्य जारी छ : मन्त्री आले


प्रेमबहादुर आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज बिहानदेखि हराइरहेको तारा एयरको ट्विनअटर विमानको खोजी तथा उद्धार कार्य युद्धस्तरमा भइरहेको जानकारी गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको रुलिङपछि उनले तारा एयरको पोखराबाट जोमसोमका लागि आज बिहान ९ः५५ बजे उडेको ट्विनअटर विमान १०ः११ मिनेटपछि सम्पर्कबाहिर गएको जानकारी गराए ।

यात्रु र चालक दल गरी २२ जना रहेको विमान हराइरहेको सम्भावित क्षेत्रमा खोजबिन कार्यलाई तीव्रता दिए पनि मौसम प्रतिकूलका कारण कठिनाइ देखिएको बताउँदै मन्त्री आलेले उद्धारका लागि पोखरा र जोमसोममा तीन हेलिकोप्टर तयारी अवस्थामा राखिएको बताए ।

अहिले मौसम प्रतिकूल रहेकाले भोलि बिहान ६ बजेअगाडि नै खोज तथा उद्धारका लागि सबै संयन्त्र परिचालन गरिने जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घका जवानहरु अहिले सम्भावित स्थानहरुमा स्थलमार्गमार्फत खोज तथा उद्धारमा खटिएको पनि मन्त्री आलेले जानकारी गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !