१२ असार २०८१, बुधबार

गर्मीमा ‘लू’ बाट बच्न के गर्ने ?


अत्यधिक गर्मी

काठमाडौँ । गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ । यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकाहीँ मृत्युसमेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शरीरमा कस्तो असर देखिन सक्छ ?

चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने । हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप हुने हुन्छ ।

एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ ।

‘लू’ लागेमा के गर्ने ?

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ । बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ । यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ ।

आफू र अरुलाई कसरी जोगाउने ?

चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।

पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ । यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !