७ बैशाख २०८१, शुक्रबार

फागु पूर्णिमा वा होली पर्वमा के गर्ने, के नगर्ने ?


होली पर्व

होलीमा के गर्ने, के नगर्ने ? होली अर्थात रंगहरुको उत्सव अर्थात फागु पूर्णिमा आज मनाइँदैछ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा आज होली मनाइदैछ भने तराईमा भने भोलि होली मनाइदैछ । होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात फागु पूर्णिमाको दिन मनाइन्छ ।

यसको आफ्नै सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक महत्व छ । खासमा होलीलाई रंगहरुको पर्व भनिन्छ । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

त्रेता यूगमा भगवान विष्णु का परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त हुन्छ ।

होली पर्वमा के गर्ने ?

१. सफा पानी र गुणस्तरीय अबिरको व्यवस्था गरौं

२. छुट्टै पहिरन लगाऔं । सकेसम्म पूरै शरीर ढाक्ने पहिरनको प्रयोग गरौं

३. रंगको असरबाट छालालाई जोगाउन हात, मुख धोएर कपडाले नछोपिएको अंगमा क्रिम लगाऔं

४. केसमा तेल या क्रिम लगाउनु राम्रो हुन्छ साथै महिलाले केस बाँध्नु राम्रो हुन्छ

५. साथीहरू, आफन्त र नातेदार आपसमा मिलेर पर्वलाई उत्सवको रूपमा मनाउने गरौं

होली पर्वमा के नगर्ने ?

१. फोहोर तथा ढलको पानी प्रयोग नगर्ने,

२. लोला तथा अन्य केमिकल रंगको प्रयोग नगर्ने,

३. जबर्जस्ती बाटो हिड्ने बटुवालाई असर हुने गरी होली नखेल्ने,

४. होहल्ला तथा झैँ-झगडा नगर्ने,

५. धुम्रपान तथा मद्यपानको प्रयोग नगर्ने,

६. सडक आगमन अवरोध हुने गरी सडकमा होली नखेल्ने,

रंगहरुको उत्सवले सम्पूर्ण नेपालीमा खुसी र उल्लास ल्याउन सकोस, सभ्य र भव्य तरिकाले होलीलाई स्वागत गरौं ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !