२६ बैशाख २०८१, बुधबार

शरदको अर्धशतकमा नेपाल ४० रनले विजयी, हार्‍यो हङकङ


शरद भेषवाकर

कार्तिक ३०, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमिर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल हङकङविरुद्ध ४० रनले विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले हङकङलाई २१८ रनको विजय लक्ष्य दिएको थियो । उक्त लक्ष्य हङकङले भेट्टाउन सकेन । उसले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै १७७ रन मात्र जोड्न सक्यो ।

नेपालको जितका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रन जोडे । उनले १३९ बलको सामना गर्दै ९ चौका हिर्काए । त्यस्तै आरिफ शेखले ४२ रनको योगदान गरे । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३७ रन र विनोद भण्डारीले १५ रन बनाए । हङकङका लागि ऐजाज खानले ३ विकेट तथा नस्रुल्ला राना र इशान खानले २/२ विकेट लिए । यसैगरी २१८ रनको लक्ष्य पछ्याएको हङकङ नेपाली बलरसामु निरीह देखियो । उसका प्रारम्भिक सबै ब्याट्स्म्यान सस्तैमा समेटिए ।

नेपालका लागि करण केसी र अबिनाश बोहराले ३/३ विकेट लिए । ९ ओभर बलिङ गरेका अबिनाशले २ मेडन राख्दै मात्र ३२ रन खर्चिए भने करणले पनि १ मेडन राखे। यसैगरी सुशन भारीले २ विकेट हात पारे । पहिलो खेलमा भारतसँग हार व्यहारेपछि नेपाललाई समूह चरण पार गर्न यो खेल जित्नैपर्ने दबाब थियो । तर आजै भएको अर्को खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेपछि समूह चरण पार गर्ने यात्रा कठिन देखिएको छ ।

नेपालले अब बंगलादेशको यू-२३ टिमसँग सोमबार भिड्नेछ । यो खेल जितेमा ३ खेलबाट नेपालको ४ अंक हुनेछ । त्यसपछि हङकङले भारतलाई हराएमा नेपालको अघिल्लो चरणको यात्रा सहज हुन्छ । तर हङकङले भारतलाई जित्न कठिन छ । यस्तै नेपालले ठूलो अन्तरमा बंगलादेशलाई हराएमा र भारतले हङकङलाई सानो अन्तरमा जितेमा रनरेटका आधारमा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !