२६ बैशाख २०८१, बुधबार

आठौं खेलकूदका संरचना जोगाउने चिन्ता


Nepalpatra

बाँके, २ जेठ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका बेला प्रदेश ५ का विभिन्न जिल्लामा निर्माण भएका झण्डै एक अर्ब रुपैयाँको भौतिक संरचना संरक्षण र व्यवस्थापन गर्ने चुनौती थपिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि यी भौतिक संरचनाको संरक्षण र ब्यवस्थापन हुन नसके खण्डहरमा परिणत हुने भन्दै चिन्ता व्यक्त गरिसकेको छ । सरकारले निर्माण गरेका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र चुस्त ब्यवस्थापन गर्नुपर्ने आवाज सबैतिरबाट उठ्न थालेको छ ।

आठौं प्रतियोगिता सम्पन्न भएपछि झण्डै एक अर्ब रुपैयाँमा निर्माण भएका भौतिक संरचनाको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको पनि भएको ठान्नुहुने भारोत्तोलनका अन्तर्राष्ट्रिय खेलाडी शमसुद्दिन सिद्दिकीले सबैले यसतर्फ चासो राख्नुपर्ने बताउनुभयो । उहाँ नेपालगञ्ज रङ्गशालामा निर्माण भएका भौतिक संरचनाको संरक्षणका लागि हरेक दिन रङ्गशाला पुग्नुहुन्छ । उहाँका अनुसार वैशाख १२ देखि नै संरक्षणको जिम्मा यहाँका खेलाडी, खेलप्रेमी, सरोकारवाला निकाय र नेपालगञ्जवासीको काँधमा आएको छ ।

उहाँले भन्नुभयो – “नेपालगञ्जमा बनेका संरचनाले हाम्रो गौरव बढाएको छ । यसको संरक्षण, सम्बर्द्धन र व्यवस्थापन गर्न सकेमात्र हामी र हाम्रो गौरव कायम रहन्छ ।”

नेपालगञ्ज उपमहानगरका प्रमुख डा धवलशमशेर राणा नेपालगञ्जमा निर्माण भएका खेल संरचनाले नेपालगञ्जलाई खेलकूदको शहर बनाउन मद्दत गरेको बताउनुहुन्छ । । “खेलकूद राज्यको हो भन्ने भावनालाई त्यागेर यो सबैको साझा सम्पत्ति हो भन्नुपर्ने बेला भएको छ,” उहाँले भन्नुभयो ।

नेपालगञ्जलाई खेल पर्यटनको रुपमा विकास गर्न सकिने सम्भावना आठौंका बेला निर्माण भएका संरचनाले दिएको बताउँदै उहाँले सबैको सहयोग भए उपमहानगरपालिका बजेट विनियोजन गर्न तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “नगरमा भएका सरकारी सम्पत्तिको संरक्षण गर्ने दायित्व हामी सबैको हो ।

सबैले चासो दिए मात्र संरक्षण गर्न सम्भव छ । नत्र आठौंले नेपालगञ्जलाई दिएको उपहार खेर जानेछ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निर्माण भएका संरचनाको संरक्षण र निर्माणका क्रममा रहेका संरचना पूरा गराउन नागरिक समाजले नजीकबाट नियाल्नुपर्ने बताउनुहुन्छ । “भौतिक संरचना निर्माणका क्रममा नागरिक समाजका अगुवाले अनुगमन गर्नुपर्ने हो तर, त्यो गर्न सकेनौ, यसमा हाम्रो पनि दोष छ,” उहाँले भन्नुभयो – “अब बनिसकेका संरचनाको संरक्षण गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।”

निर्माण भएका संरचना व्यवस्थित रुपमा उपयोग गर्न स्थानीय तहलाई जिम्मा दिनुपर्ने उहाँको विचार छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य आठौं राष्ट्रिय प्रतियोगिताले नेपालगञ्जको पहिचान बदल्ने संरचना उपहार दिएको ठान्नुहुन्छ । उहाँका अनुसार बनेका संरचनाको स्याहार, सम्भार गर्न सके नेपालगञ्ज खेलकूदको ‘हब’ बन्नेछ ।

सीतापुरमा निर्माण भएको भलिबल रङ्गशाला संरक्षण नभए खण्डहर बन्ने खजुराका समाजसेवी ऋषि पोख्रेलले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार यी संरचनाको संरक्षणका लागि स्थानीय तह र खेलसँग सम्बन्धित निकायले चासो दिनुपर्छ । “लाखौँ रुपैयाँ खर्चेर बनाइएको संरचना लागुऔषध प्रयोग गर्ने थलो बन्ने चिन्ता छ,” उहाँले भन्नुभयो ।

संरक्षणका लागि बजेट खोजिँदै

प्रदेश ५ खेलकूद परिषद्का अध्यक्ष भीम वलीले आठौं खेलकूद सकिएसँगै यसले दिएको उपहार संरक्षण गर्ने चिन्ता थपिएको बताउनुभयो । संरक्षणका लागि प्रदेश खेलकूद परिषद्सँग बजेट नभएकाले पाएको सम्पत्ति गुम्ने खतरा बढेको उहाँको भनाइ छ । खेलकूद परिषद् एक्लैले संरक्षण गर्न नसक्ने भन्दै उहाँले सहयोगका लागि विभिन्न सङ्घसंस्थासँग अपील गर्नुभएको छ । रु ४० लाख खर्चिएर रोपेको दुबो सुक्ने खतरा बढेको छ ।

आठौं राष्ट्रिय खेलकूद अन्तर्गत प्रदेश ५ मा बनाइएका खेल पूर्वाधार संरक्षणका लागि सञ्चालन कार्यविधि बनाइने भएको छ । बाँकेमा मात्रै आधा अर्बका खेल पूर्वाधारहरु निर्माण गरिएका छन् । यद्यपि, केही खेल पूर्वाधारहरु भने अझै निर्माणकै क्रममा छन् । अधुरा खेल संरचनालाई पूरा गर्न तीव्रताका साथ निर्माण कार्य अगाडि बढाइएको प्रदेश ५ का अध्यक्ष वलीले बताउनुभयो ।

“यसै महिना कार्यविधि जारी गर्ने गरी आन्तरिक तयारी थालिएको छ,” वलीले भन्नुभयो – “सञ्चालन कार्यविधिले प्रदेश ५ मा बनाइएका खेल संरचनाहरु व्यवस्थित हुनेछन् ।” बाँकी रहेका खेल पूर्वाधारको निर्माण पनि यसै आवभित्र सक्ने लक्ष्य राखिएको छ । खेल पूर्वाधारहरुको निर्माण सक्न राखेप र मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने तयारी भैरहेको छ । बाँकेमा यतिखेर ह्याण्डबल कोर्ट, पौडी पोखरी, भारत्तोलोन एकेडेमी, भलिबल स्टेडियम, जुडो र नेपाल रङ्गशालाको फुटबल मैदानको अन्तिम चरणका काम भैरहेका छन् । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !