२१ बैशाख २०८१, शुक्रबार

आइसिसी क्रिकेट लिग–२ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै


नेपाली क्रिकेट टीम

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहान ९ः३० देखि खेल सुरु हुनेछ ।

यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यका साथ खेलमा उत्रिनेछ ।

यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग चार विकेटले हारेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटले हारेको थियो ।

यस्तै नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई सात विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेदरल्यान्ड्स नामिबियाविरुद्ध २४ रनले पराजित भएको थियो ।

पहिलो शृंखलाका चार खेल खेलिसकेको नामिबिया लिग–२ तालिकाको शीर्ष स्थानमा छ । चार खेलमध्ये तीनमा जित निकालेको अफ्रिकी टोलीको खातामा ६ अंक छ । समान तीन खेल खेलेका नेपाल र नेदरल्यान्ड्स भने दुई अंकसहित क्रमशः तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो । सन् २०२७ को विश्वकप छनोट प्रतियोगिताको रूपमा रहेको लिग-२ आठ देशहरूले विभिन्न समयमा सिरिज खेल्ने छन्। आठ मध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वत: कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !