२२ बैशाख २०८१, शनिबार

माघ २७ र २८ गते लायन्स लियो फुटसल आयोजना हुने


लायन्स लियो फुटसल

काठमाडौं । देशभर रहेका लायन्स लियोबीच आन्तरिक खुल्ला फुटसल प्रतियोगिता माघ २७ र २८ गते आयोजना हुने भएको छ । शुक्रबार लायन्स एन्ड लियो क्लब अफ काठमाडौं प्रयासनगरले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता मिति घोषणा गरेको हो ।

दुई दिने प्रतियोगितामा देशभरबाट २० देखि ३० टोली सहभागी हुने क्लबका सचिव नविन बस्नेतले बताए । ‘हामीसँग ३० भन्दा माथि क्लबहरु छन् । अहिलेसम्म १० क्लबले दर्ता गरिसकेका छन् । धेरै भन्दा धेरैलाई सहभागिता गराउँछौँ,’ सचिव बस्नेतले भने । उपत्यका बाहिर काभ्रे, तनहुँ र पोखराबाट पनि टिम समावेश हुने उनले बताए ।

प्रतियोगिता मिड भ्याली कलेज ज्ञानेश्वरको मैदानमा हुनेछ । इच्छुक क्लबले तीन हजार दर्ता शुल्क तिरेर सहभागी हुन पाउनेछन् । क्लबका अध्यक्ष विराट केसीले सामाजिक कार्यबाट माथि उठेर भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।

‘हामीले धेरै भन्दा धेरै सामाजिक कार्य गर्दै आएका छौँ । पछिल्लो वर्षदेखि भाइचारा सम्बन्ध बढाउन फुटसल प्रतियोगिता आयोजना थालेका हौँ ।’ अपाङ्गता भएका व्यक्तिहरूलाई प्रशिक्षण सीप प्रदान गर्नका लागि केही योगदान गर्ने पनि उद्देश्य रहेको छ ।

प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले आठ हजार पुरस्कार तथा ट्रफी पाउने अध्यक्ष केसीले बताए । सर्वोत्कृष्ट खेलाडीले २५ सयसहित ट्रफी पाउनेछन् । प्रतियोगिता आयोजना गर्न अनुमानित डेढ लाख खर्च हुने क्लबले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन २७ गते विहान साढे १० बजे हुनेछ । उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका सचिव पारस खड्का सहभागी हुनेछन् । खेल फिफाबाट मान्यता प्राप्त रेफ्रीले खेलाउनेछन् ।

अध्यक्ष केसीले क्लबभित्र जोडिएका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा सहभागी हुन पाउने बताए । ‘अपांगता भएका व्यक्तिलाई सहयोग गर्न सकिन्छ कि भन्ने हाम्रो सोच छ,’ उनले भने । पत्रकार सम्मेलनमा लायनहरु मनिष श्रेष्ठ, अमित थापा, लियो क्लब अफ काठमाडौं छाब्दी बाराहीका अध्यक्ष मन्जिता परियार, इभेन्ट म्यानेजर नवीन पाण्डेलगायत युवाहरुको सहभागिता थियो । प्रतियोगिताको स्पोन्सरमा मिड भ्याली इन्टरनेशनल कलेज, खल्ती एप, टिच स्टुडियो, डायनामिक, ग्रिनसिटी, स्टुडियो प्रभातलगायत ८ वटा संस्था छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !