२० बैशाख २०८१, बिहिबार

युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट


आशिफ शेख

काठमाडौं । नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।

आज शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल १० वर्षपछि विश्वकपमा छनोट भएको हो । सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल छनोट भएको हो ।

नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको हो । नेपालले २०१४ मा पहिलो टि-२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन । जितको लागि १३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए ।

कप्तान रोहित पौडेलले एक छक्का र तीन चौकको सहयोगमा ३५ रन बनाए भने गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए । यूएईका लागि निलान्स केस्वानी र बसिल हमिदले एक÷एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३४ रन बनायो । यूएईका लागि विकेटविकपर वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए । उनले ५४ बल खेल्दै दुई छक्का र आठ चौका प्रहार गरे ।

कप्तान मोहम्मद वासिमले १६ बलमा दुई छक्का र तीन चौकासहित २६ रन बनाए । आसिफ खानले १३, अलिसन सफारुले १६ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।

नेपालका लागि कुशल मल्लले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए । साथै सोमपाल कामी र राहित पौडेलले एक/एक विकेट लिए । दुई ब्याटर रन आउट भए ।

नेपाल समूह ‘ए’ बाट उपविजेता र युएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । समूहको अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

आजै भएको पहिलो सेमिफाइलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरेको छ । आइतबार हुने फाइनलमा नेपाल र ओमान भिड्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !