२३ बैशाख २०८१, आइतबार

एसीसी प्रिमियर कप : नेपालको सानदार जित, कतारको लज्जास्पद हार


नेपालको सानदार जित फाइल फोटो

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ भने कतारले लज्जास्पद हार भोगेको छ ।

स्पिनर सन्दीप लामिछानेको सानदार अलराउन्ड प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित बनाएको छ । नेपाल समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जितको लागि १५८ रनको झिनो विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो ।

कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए भने सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । नेपालको जितमा सन्दीप नायक बने ।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन-तीन विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियोे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए ।

नेपाल समूह चरणमा अपराजित रह्यो । जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

सन्दिपको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपाल यो जितसँगै समूह बिजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !