२५ बैशाख २०८१, मंगलबार

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त


मोन्टी देसाई

काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय क्रिकेटर देसाईलाई नियुक्त गरेको हो ।

देसाईलाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गर्न युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति दिएको बुझिएको छ । केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका देसाईलाई क्यानले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी सुरुवात गर्नेछन् ।

यद्यपि राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको भन्दै क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन । क्यानले आजै दिउँसो ३ बजे होटल हायात प्यालेसमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर नयाँ मुख्य प्रशिक्षकको नियुक्ति गरिएको औपचारिक घोषणा तयारी गरेको छ ।

देसाई यसअघि सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन् । उनले सन् २०१५ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !