काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने आज २० लाख धरौटी बुझाएर छुट्दै छन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी आज थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश हिजो बिहीबार बदर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको थियो ।
उच्च अदालतले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले लामिछाने हिजो रिहा भएका थिएनन् । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएतापनि विदेश जान नपाउने पनि आदेश दिएको छ ।
अदालतको आदेशअनुसार सन्दीपले मुद्दाको अन्तिम फैसला नभएसम्म काठमाडौं छाड्न पनि अनुमति लिनुपर्ने भएको छ । विदेश जान रोक लगाएको अदालतले उनको राहदानी पनि रोक्का गर्न सरकारलाई आदेश दिएको छ ।
यस्तै लामिछानेले पीडितको परिवारलाई कुनै पनि तरिकाले सम्पर्क गर्न नपाउने भएका भने जाहेरवालासँगको सम्बन्धका बारेमा कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा टिका-टिप्पणी गर्न पनि नपाउने भएका छन् ।
त्यस्तै उनले काठमाडौं छाड्नुपरे जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराउनुपर्ने, जाने र फर्किने मिति पनि खुलाउनुपर्ने आदेशमा उल्लेख गरिनुका साथै प्रहरीले सन्दीपको फोन पनि गोपनीयता भंग नहुने गरी निगरानीमा राख्न अदालतले आदेश दिएको छ ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनले बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहि उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।
यो पनि पढ्नुहोस्
अदालतद्वारा सर्तसहित सन्दीपलाई रिहाईको आदेश, नत्र फेरि कारागार पठाइने (पूर्णपाठसहित)
आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ?
२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने भोलि छुट्ने
अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक
क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश