७ बैशाख २०८१, शुक्रबार

२० लाख धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने भोलि छुट्ने


सन्दीप लामिछाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने भोलि २० लाख धरौटी बुझाएर छुट्ने भएका छन् । उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएसंगै उनी भोलि थुनामुक्त हुने भएका हुन् ।

उच्च अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश आज बिहीबार बदर गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको थियो ।

उच्च अदालतले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले लामिछाने आज रिहा नहुने भएका हुन् । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएतापनि विदेश जान नपाउने पनि आदेश दिएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनले बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहि उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । यस्तै जाहरेवालाको तर्फबाट तीन जना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलले बहस गरेका थिए ।

यो पनि पढ्नुहोस्

अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !