२१ बैशाख २०८१, शुक्रबार

सन्दीपविरूद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान जारी


सन्दीप लामिछाने

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध दायर भएको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । उक्त इजलासले लामिछानेको बयान लिइरहेको अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए ।

लामिछानेविरूद्ध हिजो सरकारी वकिलको कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको आज काठमाडौं जिल्ला अदालतमा उनीसँग बयान लिइरहेको हो । आजै थुनछेक बहस पनि हुने बताइएको छ ।

लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने, तारेखमा छाड्ने वा धरौटमा छाड्ने भन्ने विषयमा आज बहसपछि अदालतबाट आदेश आउनेछ । भोलि बुधबार साँझसम्म अदालतको फैसला आउने प्रवल सम्भावना रहेको छ ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !