२२ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री देउवाद्वारा पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समापन


नवौँ राष्ट्रिय खेलकुदको समापन

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन गरेका छन् । गण्डकी प्रदेशका विभिन्न ८ वटा जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रधानमन्त्री देउवाले भव्य समापन समारोहका साथ समापन गरेका हुन् ।

पोखरा रङ्गशालामा आज साँझ राष्ट्रिय खेलकुदको भव्य समापन समारोहमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रधानमन्त्री देउवाले प्रतियोगिताको च्याम्पियन टोलीलाई रनिङ शिल्ड प्रदान गरेका थिए ।

समारोहमा प्रधानमन्त्री देउवासहित युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, प्रदेशका मन्त्रीहरु, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । यसअघि गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

समारोह उपसमितिका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा जस्तै गरी समापन पनि भव्य भएको छ । मार्चपास, मस्कट प्रदर्शन, तीनवटै सुरक्षा निकायबाट संयुक्त ब्याण्ड प्रदर्शन, झाँकीसहित दुई घण्टाको भव्य समापन समारोह भएको छ ।

समापन समारोहमा च्याम्पियन टोलीलाई ट्रफी र पुरुष फुटबलका विजेता खेलाडीलाई मेडल प्रदान गरिएको छ । समारोहमा राष्ट्रिय कलाकारबाट गीत तथा नृत्य प्रस्तुत हुने र अन्तिममा भव्य आतिशबाजीसहित समारोहको समापन भएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !