२१ बैशाख २०८१, शुक्रबार

नवौँ राष्ट्रिय खेलकुद : पार्कीलाई पहिलो स्वर्ण


गोपीचन्द्र पार्की

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज बिहान भएको एथ्लेटिक्स विधाको पाँच हजार मिटर दौडमा ससस्त्र प्रहरी बल (एपीएफ)का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा गोपीचन्द्रले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ६७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्णपदक हो ।

सोही स्पर्धामा कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले रजत पदक जिते । उनले निर्धारित दूरी १४ मिनेट २९ दशमलव ९३ सेकेन्ड समय लगाउँदै रजत पदक जितेका हुन । त्रिभुवन आर्मी क्लबका मुकेश पालले कास्य जिते । उनले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गरे ।

पुरुष दुई सय मिटरमा शिवराजको स्वर्ण

त्यसैगरी दुई सय मिटर पुरुष दौडमा शिवराज पार्कीले स्वर्ण जिते । एपिएफका खेलाडी उनले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्ड समय खर्चदै पूरा गरे । नवौँ खेलमा उनको यो तेस्रो स्वर्णपदक हो । यसअघि उनले पुरुष एक सय मिटर दौड र रिलेमा स्वर्णपदक जितेका थिए ।

सोही स्पर्धामा एपिएफका खेलाडी आशिष चौधरीले रजत जित्दा त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते । आशिषले निर्धारित दूरी २२ दशमलव ०५ सेकेन्डमा पूरा गरे भने युवराजले २२ दशमलव ५० सेकेन्ड समय लगाए । एपिएफका गोपीचन्द्र र शिवराज दाजुभाइ हुन । उनीहरू दुवैका लागि आजको दिन विशेष रह्यो ।

महिला दुई सय मिटरमा निशाको स्वर्ण

सोही स्पर्धाको महिलातर्फको विधामा लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितिन । नवौँ राष्ट्रिय खेलमा उनको यो पहिलो स्वर्ण पदक हो । उनले निर्धारित दूरी २५ दशमलव २४ सेकेन्डमा पूरा गरिन । त्यस्तै एपीएफकी रमिताकुमारी थारुले २५ दशमलव ९५ सेकेन्ड समय खर्चदै रजत पदक जितिन । नेपाल प्रहरीकी लक्ष्मी साउदले कास्य पदक हात पारिन । उनले २७ दशमलव ५२ सेकेन्ड समय लगाउँदै कास्य पदक जितेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !