२० बैशाख २०८१, बिहिबार

झापा गोल्डकप : पुलिसलाई हराउँदै सङ्कटा विजयी


झापा गोल्डकप

झापा । झापा जिल्लाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो ।

विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुआती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए ।

पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रमक बने पनि स्कोर भने सङ्कटाले मात्र गर्न सफल भयो ।

खेलको २४औँ मिनेटमा पुलिसका सन्तोष हेमरमको पासमा रवि पासवानको हेडर पोस्ट नजिकैबाट बाहिरियो । २६ औँ मिनेटमा सौजन राईको फ्रिकिक सङ्कटाका गोल रक्षक रोहित कार्कीले विफल तुल्याए । ५०औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले ‘वान भर्सेस वान’ मा गोल गर्न नसक्दा अग्रता बनाउन सकेन । ५४ औँ मिनेटमा कप्तान राईले प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो ।

१६ औँ मिनेटमा सङ्कटाका लक्ष्मण रुचालको फ्रिकिक पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले विफल बनाए । २२औँ मिनेटमा सङ्कटाका उत्तम राईले डिबक्स एरियाबाट गरेको प्रहार देब्रे बार नजिकैबाट बाहिरियो । सङ्कटाले खेलमा एक दर्जनभन्दा बढी प्रहारलाई गोलमा सदुपयोग गर्न सकेन ।

आइतबारको खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टिम सङ्कटाका फोडे फोफोना घोषित भए । उनले नगद रु नौ हजार ९९९ प्राप्त गरे । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले रु छ लाख पाँच हजारमा चित्त बुझाउनुपर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।

प्रतियोगिताअन्तर्गत सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए । एपीएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटोले जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !