२६ बैशाख २०८१, बुधबार

स्वदेश फर्किएको विजेता नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत


नेपाली महिला भलिबल टोली

काठमाडौँ । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् ।

नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत गर्नुभयो । विमानस्थलमा टोलीलाई बाजा बजाएर स्वागत गरिएको थियो ।

गत मङ्गलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै स्वर्णपदक हात पारेको थियो । बङ्गलादेशको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

उक्त प्रतियोगितामा नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि सन् २०१९ मा बङ्गलादेशमै भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो । त्यस्तै पुरुषतर्फ खेलमा भने नेपाल चौथो स्थानमा रह्यो ।

तेस्रो स्थानका लागि भएको भिडन्तमा उज्वेकिस्तानसँग नेपाल ३–० को सेटमा पराजित भएसँगै चौथो स्थानमा रहेको हो । पुरुष टोली पनि आजै स्वदेश फर्किएका छन् । सरकारले उक्त च्याम्पियन टोलीका १२ सदस्यीय खेलाडीलाई जनही रु पाँच लाख तथा दुई प्रशिक्षकलाई जनही रु तीन लाख दिने निर्णयसमेत गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !