१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी


क्रिकेट

काठमाडौँ । कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले प्रदेश नं २ लाई दुई विकेटले पराजित गरेको हो ।

यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको थियो । प्रदेश नं २ को पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीको जितमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए ।

बलिङतर्फ प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिनुभयो । विवेक यादवले २ विकेट लिनुभयो । त्यसअघि टस जितेर ब्याटिङ थालेको प्रदेश २ ले १३ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । प्रदेश २ का लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे ।

सन्तोष कार्कीले ११ रन बनाए । पाँच खेलाडी शून्यमै आउट भए । कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिनुभयो भने अनुज चनाराले २ विकेट लिनुभयो । सात प्रदेश सम्मितलित प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

फाइनल खेल यही मङ्सिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अङ्कका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । त्यस्तै सुदूरपश्चिम ५ खेलमा ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।

लिगको अन्तिम खेलमा सुदूरपश्चिमले वाग्मती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार खेल्नेछ । वाग्मती प्रदेश ५ खेलमा २ मा जित र ३ मा हारसहित ४ अङ्कका साथ चौंथो स्थानमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !