२५ बैशाख २०८१, मंगलबार

राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी


राष्ट्रिय महिला फुटबल लिग : चन्द्रपुर र वालिङ विजयी फाइल फोटो

काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेल चन्द्रपुरले विराटनगर महानगरपालिकालाई १–० गोलले पराजित गरेको हो । चन्द्रपुरका लागि निर्णायक गोल रजनी थोकरले गर्नुभएको हो ।

दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । मध्यान्तरपछिको खेलमा ७०औँ मिनेटमा थोकरले चन्द्रपुरका लागि गोल गर्नुभएको हो । जीतसँगै चन्द्रपुरले सात खेलमा ६ अङ्क बनाएको छ । विराटनगरको सात खेलमा १० अङ्क छ ।

लिगको आज सम्पन्न दोस्रो खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङ नगरपालिकाले पुलिस क्लबलाई १–० गोलले हराएको हो ।

वालिङका लागि मेथो रुथले निर्णायक गोल गर्नुभएको हो । मध्यान्तरअघिको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५८औँ मिनेटमा क्यामरुनका खेलाडी रुथले वालिङका लागि एकमात्र निर्णायक गोल गर्नुभएको हो ।

जीतसँगै वालिङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । वालिङको सात खेलमा ११ अङ्क छ । पुलिस आठ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार एपिएफ र चौदण्डीगढी नगरपालिकाबीच खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !