१५ बैशाख २०८१, शनिबार

कोरोनाविरुद्धको खोप अभियान तीव्र बनाउन उपराष्ट्रपतिको ध्यानाकर्षण


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई व्यवस्थित रुपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

विश्व शान्तिका अग्रदूत एवं बौद्धधर्मका प्रवर्तक गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व, चण्डीपूर्णिमाका अवसरमा आज सन्देश दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।

महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उहाँले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औँल्याएका छन् ।

“म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु”, उनले भनेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरविरुद्ध लड्न र विजय प्राप्त गर्न गौतम बुद्धले दिएका उपदेश अझै सान्दर्भिक रहेको बताउँदै उपराष्ट्रपतिले बुद्धका उपदेशलाई आत्मसात् गर्न सकेमा कोरोना भाइरस लगायत मानव समुदायका साझा शत्रुविरुद्ध लड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !