१४ बैशाख २०८१, शुक्रबार

शहरमा लकडाउन, गाउँमा धमाधम


लकडाउन

मङ्गलबारे, ८ जेठ । नेपाल पुनःनिर्माण प्राधिकरणअन्तर्गत नुवाकोटमा कार्यरत सवइञ्जिनियर बासु खनाल बन्दाबन्दी हुनुभन्दा केहीदिनअघि आफ्नो घर इलाम आउनुभयो । देउमाई नगरपालिका–२ का स्थायी बासिन्दा उहाँ हाल घरायसी काममा व्यस्त हुनुहुन्छ । खनाल दाउरा काट्ने, मकै गोड्ने, चिया टिप्नेलगायतका काममा व्यस्त हुनुभएको छ । उहाँहरुले गाउँमा यतिखेर मेलापर्म गर्दै काम गर्नुभएको छ । तर केही कामका लागि बजार जान भने कठिन भएको उहाँको भनाइ छ ।

त्यस्तै मुस्ताङमा शिक्षण पेशामा रहनुभएका प्रकाश सुवेदी पनि गएको चैत १० गते देउमाई नगरपालिकास्थित घरमा आउनुभयो । उहाँ पनि करिब दुई महिनायता घरायसी काममा नै व्यस्त रहनुभएको छ । देशमा बन्दाबन्दी शुरु भएपछि गाउँघरमा हुने दैनिक कार्य तथा कृषि कार्यमा पनि कुनै कमी आएको छैन । हालसम्म बजारमा खाद्यान्न अभाव नभएकाले बजार जानसमेत खासै समस्या नभएको ग्रामीण क्षेत्रका बासिन्दाको भनाइ छ । तर गाउँमा उत्पादित वस्तु बजारसम्म लैजान नपाउँदा भने समस्या भइरहेको छ ।

गाउँमा मानिस काममा व्यस्त रहे पनि बजारक्षेत्रका मानिसको दैनिकी भने घरभित्रै बित्ने गरेको छ । बजारमा पसल गर्ने मानिस केहीले त्रासकाबीच सेवा दिइरहेका छन् भने कतिपयले पसल नै छोडिसकेको बताउने गरेका छन् । मासिक भाडामात्र तिर्नुपर्ने भएकाले पसल नै नगर्ने सोच बनाएको उनीहरु बताउँछन् । इलाम नगरपालिका–६ खरेलडाँडाका बालकुमार पोख्रेलले इलाम बजारको फलफूल तथा तरकारी पसल बन्द गर्नुभएको छ । मासिक रु १० हजार भाडा तिर्नुपर्ने तर बिक्री हुन छोडेपछि बन्द गरेको उहाँको भनाइ छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्ने भएपछि सरकारले गत चैत ११ गतेदेखि देशमा बन्दाबन्दीको घोषणा गरेको थियो । करिब दुई महिनायता जारी लकडाउनको इलामलगायत देशैभर प्रभाव परेको छ ।

इलाम सन्दकपुरका सुमन सुवेदीको इलाम नगरपालिकाको इलाम बजारमा बिजुलीका सामानको पसल छ । उहाँ पनि अहिले पसल छोडेर घर फर्किनुभएको छ र घरायसी काममा व्यस्त हुनुहुन्छ । दुई महिनादेखि पसल बन्द हुँदा कसरी जीविका चलाउने भन्ने चिन्ता त छँदैछ उता मासिक भाडा तिर्न पनि समस्या भएको उहाँको भनाइ छ । अब भने उहाँले गाउँमा बाख्रापालन शुरु गर्ने सोच बनाएको सुनाउनुभयो ।

किनमेलका लागि मानिस समय मिलाएर बजार जाने गरेका छन् । तर बजार पनि प्रायः सुनसान नै बन्दै गएको छ । इलाम उद्योग वाणिज्य सङ्घले इलाम बजारमा बिहान १०ः३० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खुला गर्न निर्देशन दिएको छ । बेलुका पनि ५ बजेबाट एक घण्टा बजारमा आवतजावत गर्न दिइएको छ । वाणिज्य सङघका अध्यक्ष ईश्वर चिपालुले सामाजिक दूरी कायम गर्दै उपभोक्ता, व्यापारी तथा व्यवसायीलाई किनमेल गर्न आग्रह गरेको छ । दिउँसो भने अस्पताल आवतजावत गर्नेमात्र बजारमा देखिने गरेका छन् ।

लकडाउन शुरु भएपछि सबैभन्दा बढी पीडित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर भएका छन् । दैनिक काम गरेर खानेहरुको काम रोकिएपछि समस्या भएको उनीहरुको भनाइ छ । लकडाउन भएपछि पसल गर्ने र सवारीसाधन सञ्चालन गर्नेहरु पनि उत्तिकै समस्यामा छन् । पसल बन्द भएपछि पसलको भाडा, बैंकको ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता छाएको व्यापारीको भनाइ छ । सवारी सञ्चालक पनि बैंक तथा सहकारीको ऋणसँगै चालकको तलबको विषयमा चिन्तित छन् ।

उता सवारी सञ्चालकको विषयमा सरकारले केही सोच्नु आवश्यक रहेको व्यवसायी बताउँछन् । बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीसमेत पालो गरेर कार्यालयमा उपस्थित हुने गरेका छन् । उनीहरुको समस्या पनि उस्तै छ । सवारीको पास लिएर केहीले घरबाट धाउनुपरेको छ भने जिल्ला बाहिरबाट आएकाहरुले कोठामा नै बसेर काम गरिरहेको बताउने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !