२६ बैशाख २०८१, बुधबार

तनहुँमा दाताको भरमा ज्येष्ठ नागरिक आश्रम सञ्चालन


ज्येष्ठ नागरिक आश्रम सञ्चालन

दमौली । तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाएका छन् ।

विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिए ।

“जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उनले भने । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उनले भने, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।”

आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउछन् ।

व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो ।

आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ ।

दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिए । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उनले भने । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताए ।

तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ ।

स्थापनाकालमा ३० महिलाले रु एक–एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिए । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उनले भने, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।”

उनका अनुसार आश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।

अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु

तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लबको आयोजनामा सोमबारदेखि व्यास नगरपालिका–३ मा प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन १० खेल सम्पन्न भएको छ । छात्रतर्फ छ र छात्रातर्फ चार खेल सम्पन्न भएको खेल संयोजक उज्ज्वल भट्टराईले जानकारी दिए ।

छात्रतर्फ सत्यवती मावि र निर्मल माविबीच भएको खेलमा सत्यवती, बाराही कलेज र पराशर कलेजबीच भएको खेलमा बाराही, कन्काई एकेडेमी र आदिकवि भानुभक्त क्याम्पसबीच भएको खेलमा आदिकवि, सत्यवती मावि र दमौली कलेजबीच भएको खेलमा सत्यवती, व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ, व्यास बोर्डिङ र दमौली कलेजबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

छात्रातर्फ पराशर कलेज र दमौली कलेजबीच भएको खेलमा पराशर, सत्यवती मावि र बाराही कलेजबीच भएको खेलमा सत्यवती, बाराही कलेज र व्यास बोर्डिङबीच भएको खेलमा बाराही र व्यास बोर्डिङ र निर्मल माविबीच भएको खेलमा व्यास बोर्डिङ विजयी भएको छ ।

खेलमार्फत पर्यटन प्रवद्र्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष रविन पौडेलले बताउनुभयो । पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालयस्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुचि बढाउन प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाइ छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गरे ।

क्लबका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडिमात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताए । मङ्गलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको खेल संयोजक भट्टराईले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता छ । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कुल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कुलको सहभागिता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !