१५ बैशाख २०८१, शनिबार

“अब बाँचिने भो सरकार !”


न्याय

दुल्लु, २३ चैत । कोभिड –१९ को संक्रमण फैलिन नदिन गरिएको लकडाउनपछि दैलेख बजार नजीकै गणेशथानमा बसोबास गर्दै आइरहनुभएका तारा वादीको तीन दिनसम्म चुल्हो बलेन । तारालाई आफन्तले चामल, नुन र तेल पैँचो दिए । केही दिनसम्म पैँचोबाट ताराले चार जनाको परिवार पालिन् । सरकारले लकडाउन थप गरेपछि अन्य वादी समुदायले ताराको जस्तै पीडा भोग्नुप¥यो । जहान परिवार पाल्न बादी समुदायले साहु महाजनबाट आफूसँग भएको पैसाले अन्न खोजेर ल्याए । त्यहीले गुजारा चलाए । “केटाकेटीलाई मात्र खान दिएर कहिल्यै हामी भोकै बस्याँैँ, हातमुख जोर्न पाइएन”, कलम वादीले पीडा सुनाउनुभयो ।

शनिबार नारायण नगरपालिकाले वितरण गरेको खाद्यान्न पाउँदा तारा र कलम खुशी भए । पहिला घरमा एक छाक चामल नहुँदा रोगभन्दा भोकले मरिने चिन्ता थियो । “चामल पाएपछि अब त बाँचिन्छ कि भन्ने लागेको छ सरकार !”, ताराले खुशी व्यक्त गर्नुभयो ।

तारा र कलम मात्र होइनन्, ती जस्तै ६५ घरपरिवार वादी समुदायमा यो समस्या हिजोसम्म ठूलो थियो । नगरको राहत वितरणपछि भने सबैको मुहारमा चमक छाएको छ । राहत वितरणपछि यो समुदाय स्थानीय सरकारको गुनगान गाउन थालेको छ ।

“नेपाल सरकारले घरबाट बाहिर नआउनू, रोग लाग्छ भनेपछि हामीे घरमै बस्यौँ तर रोगभन्दा छिटो हाम्रो बस्तीमा भोक आयो । लकडाउनसँगै बजार बन्द हुँदा बादी समुदायले काम गर्न नपाउँदा छाक टार्न समस्या भएको थियो, अब ढुक्क भयौंँ”, कलमले बताउनुभयो, “बजार बन्द हुँदा कमाइ हुँदैन थियो । के खाने भन्ने चिन्ता लागेको थियो । हाम्रो सरकारले पीडा बुझिदियो, अब चिन्ता छैन । अब घरमै बसेर सरकारले ल्याएको लकडाउनलाई सहयोग गर्छौँ ।”

उमेरले तीन बीस कट्नुभएका धनकला वादी पनि औधि खुशी हुनुहुन्छ । “अब सरकारले अन्नपानी सबै दियो । घरमै बसीबसी खानू भनेको छ, त्यही गर्नुप¥यो । सबै दिएपछि बाहिर निस्कने काम छैन”, उहाँले भन्नुभयो,“ बन्द भएपछि बिहान खाए बेलुका के खाने, बेलुका खाए बिहान के खाने भन्ने चिन्ताले निद्रासमेत लाग्न छाडेको थियो । अब कानमा तेल हालेर सुत्छौँ, हाँस्दै धनकलाले भन्नुभयो ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले नेपालभरि लकडाउन लगाउँदा प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर जीविका चलाउने परिवारमा परेको पीडा खाद्यान्न वितरणबाट शान्त हुने पत्रकार भक्तबहादुर शाहीले बताउनुभयो । नारायण नगरपालिका जस्तै अन्य १० स्थानीय सरकारले लगत संकलन गरी खाद्यान्न वितरण गर्दा ज्यालामजदूरी गरेर जीवनयापन गर्दै आएकालाई सुविस्ता हुने र लकडाउनको पालन हुने उहाँले बताउनुभयो ।

लकडाउनको प्रत्यक्ष मारमा ज्यालामजदूरी गरेर खाने वादी समुदाय परेकाले नगरपालिकाले शनिबार राहत वितरण गरेको नगरपालिका प्रमुख रत्नबहादुर खड्काले जानकारी दिनुभयो ।

“हामीले नगरपालिकाका ९५४ विपन्न परिवारलाई साबुन, दाल, नुन र २५ किलो चामल वितरण गरेका छौंँ । बाहिरी जिल्लादेखि काम गर्न आएका ५६ जनालाई राहतस्वरुप खाद्यान्न दिएका छौं । पहिलो चरणमा १५९ घरधुरीलाई खाद्यान्न दियौँ, बाँकी घरधुरीमा क्रमशः दिँदै जान्छौँ”, नगर प्रमुख खड्काले भन्नुभयो । खाद्य सामग्री हस्तान्तरण गर्दै खड्काले भन्नुभयो, “तपाईँहरु सबै लकडाउनको पालना गरी घरमै बस्नुहोला । घरआँगनमै स्थानीय सरकार भएकाले तपार्इँहरु भोकै बस्नुपर्दैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !