२३ बैशाख २०८१, आइतबार

भत्ता बढेपछि ज्येष्ठ नागरिक खुशी : सरकार हाम्रो सहारा


ज्येष्ठ नागरिक

धनगढी । शनिबार दिउँसो बजेट भाषण सुनिरहेका कैलालीको घोडाघोडीका वृद्ध श्यामलाल एक्कासि हौसिँदै खुशीले नाँच्न थाल्नुभयो । यो देखेर घरमा बसिरहेका छोराबुहारी र नाति दङ्ग भए । खुशीले नाँचिरहनुभएका श्यामलालले दुई वर्षीय नातिलाई काँधमा बोक्दै एकछिन आँगनमा खेलाउनुभयो र भन्नुभयो, ‘‘आजदेखि मेरो पेन्सन एक हजारले बढ्यो । यो सुनेर छोराबुहारी पनि खुशी भए ।

आफ्नो सक्रिय जीवन सामान्य खेतीपातीमै बिताउनुभएका आफ्ना बुबाको पेन्सन कहाँ बढेछ भन्ने उनीहरुमा लाग्यो । श्यामलालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत बृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाएको सुनाएपछि छोराबुहारीले बल्ल थाहा पाए बुबाको पेन्सन त सरकारले दिने बृद्धभत्ता पो रहेछ ।

श्यामलाल मात्रै हैन आर्थिक वर्ष २०७८/७९ को लागि आयव्ययको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले वृद्धभत्ता भत्ता बढाएपछि यहाँका सबैजसो बुढापाकाहरू खुशी भएका छन् । मासिक तीन हजारका दरले भत्ता बुझिरहनुभएका बृद्धबृद्धा त्यसमा थप एक हजार बढेर चार हजार पाउने भएपछि खुशी भएका हुन ।
सरकारले भत्ता बढाएको खबर छोराबाट थाहा पाउनुभएका कैलालीको गौरीगङ्गा नगरपालिकाका ७५ वर्षीय हरिबहादुर रोकाया निकै खुशी हुनुन्थ्यो । मासिक ३ हजार रुपैयाँ बुझ्दै आउनुभएका हरिबहादुर मासिक ४ हजारका दरले वृद्ध भत्ता पाउने भएपछि आफ्ना छोरालाई अब त मेरो पनि भत्ता बढेकाले आफूलाई चाहिने समान आफैले किन्न पाउने भएँ भन्दै हुनुहुन्थ्यो ।

‘‘हाम्रो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुरीमुरी धन्यवाद । अब तैँले हेला गरिस् भने पनि सरकारले पाल्छ केटा हामीलाई ।’’ पिताको भनाइ उल्लेख गर्दै छोरा कमल रोकायाले भन्नुभयो । विसं. २०५२ सालमा नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धभत्ता कार्यक्रम थालनी भएको थियो ।

बृद्धावस्था लागे देखि घरपरिवारमै हेलाँको पात्र हुने गरेका आफूहरूका लागि सरकारले दिँदै आएको भत्ता सन्तानसरह भएको र यही भत्ताका कारण आफूहरूको जीवन चलिरहेको ज्येष्ठ नागरिकको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !