१४ बैशाख २०८१, शुक्रबार

पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु


पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु
राम ठकुरी
राम ठकुरी

भौतिकवादको चरम विकासले गर्दा मानव जीवन संकटमा पर्दै आइरहेको छ । पृथ्वीमा प्राकृतिक रुपमा मानव र अन्य जीवको मृत्युु सामान्य रूपमा हुने प्रक्रियामा त हामी अनभिज्ञ छैनौं । तर छोटो समयभित्रै मानव जातिको अत्यन्तै ठुलो संख्यामा बिनास हुन सक्ने सम्भावित कारणहरुबारे यहाँहरुले विचार गर्नु भएको छ ? जान्नुहोस पृथ्वीमा जीवको बिनाश हुन सक्ने सम्भावनाहरु यस्ता छन् :

१. प्राकृतिक प्रकोप

प्रकृतिमा अचानक आइपर्ने विध्वंसकारी घटनाहरु जस्तै भुकम्प, बाढी, पहिरो, ज्वालामुखी, समुन्द्री आँधी, हिमपहिरो, अनावृष्टि, अतिवृष्टि आदि । USGS को बिवरण अनुसार भूकम्पले मात्र सन् १९०० देखि  अहिलेसम्म १८ लाख भन्दा बढी मानिसको ज्यान गई सकेको छ । त्यस्तै बिभिन्न काल-समयमा अन्य प्राकृतिक प्रकोपबाट पनि कयौ मानिसहरुको ज्यान गई सकेको छ ।

२. रोगको महामारी

पहिचानमा आएको सर्ने र नसर्ने रोगले मात्रै बर्षेनी करोडौं मानिसको मृत्युु हुने गर्छ, तर पृथ्वीको कुनै भागमा अचानक तत्काल नियन्त्रण गर्न नसकिने खालका जिबाणु देखा परी तीब्र गतिमा त्यसको संक्रमण फैलिने हुन्छ । उदाहरणको लागि H1N1 भाइरस, इबोला भाइरस,  आदि पहिले नै देखा परिसकेको भाइरस लिन सकिन्छ । स्वाइन फ्लुले मात्रै ५,०००,००० जति मानिसको ज्यान गइसकेको छ । त्यस्तै २०१५ मा मात्रै १०,००० भन्दा बढी मानिसको इबोला भाइरसको संक्रमणबाट ज्यान गएको छ । अहिले विश्वमा कोरोना भाइरसको संक्रमणको महामारीवाट करीव ३००० भन्दा बढी मानिसको ज्यान गई सकेको छ । भविष्यमा यी भन्दा लाखौं गुणाले फैलन सक्ने खतरनाक जिबाणुको अचानक तीब्र संक्रमण फैलिन गई छोटो समयमै कयौं मानिसको ज्यान लिन पनि सक्नेछ ।

३. आणविक परीक्षणको दुर्घटना

बिश्वका शक्तिशाली राष्ट्रहरुमा शक्तिशाली आणविक हतियारहरुको परीक्षण हुने क्रम जारी छ । भविष्यमा कुनै समयमा आणविक परीक्षणको क्रम त्रुटिपुर्ण र अनियंत्रित भई दुर्घटना भएमा तापशक्तिका साथै हानिकारक विकिरण र रेडियोधर्मी (Radioactive) तत्वको तत्काल र तीब्र फैलावट हुन सक्छ । त्यसले एकै पटकमा ठुलो संख्यामा जीवको क्षति हुनसक्छ । सन् २०११ मा जापानको फुकुसिमा पावरको दुर्घटना हुदा ठुलो आपती आइपरेको थियो । त्यतिबेला फैलिएको हानिकारक रेडियोधर्मी तत्वहरु अझै केहि बर्ष त्यहाँ आसपासको पानी, माटो र बनस्पतिमा संचित भइरहने छन् ।

४. बिश्व युद्ध

बिश्वमा यसअधि दुई ठुला युद्ध भईसकेको छ , जसमा धेरै मानिसहरुले ज्यान गुमाउनु परेको थियो । ती युद्धहरुमध्ये दोश्रो बिश्व युद्धमा त जापानमा परमाणु बम समेत प्रयोग गरिएको थियो, जसबाट ठुलो क्षति भएको थियो । प्रथम बिश्व युद्धमा १,७०,००,०००(एक करोड सतरी लाख) मानिसहरुको ज्यान गएको थियो भने २,००,००,००० (दुइ करोड) मानिसहरु घाइते भएका थिए । त्यस्तै गरी दोश्रो बिश्व युद्धमा ८,००,००,००० ( आठ करोड) मानिसको ज्यान गएको थियो ।

आजको युगमा परमाणु बम भन्दा पनि कयौं गुणा शक्तिशाली अणु बम (हाइड्रोजन बम) को आविष्कार भई सकेको छ । फेरि अर्को बिश्व युद्ध भएमा अत्याधुनिक बन्दुक र मिसायलका साथै अत्यन्तै शक्तिशाली आणविक हतियार (परमाणु र अणु बम)  को प्रयोग पागलपनको साथ अनियंत्रित रुपमा हुन सक्ने सम्भावना छ । जसले गर्दा बिश्वभर छोटो समयमै करोडौं जीवहरुको ज्यान जान सक्नेछ ।

५.  उल्कापात

हामी बेला-बेलामा आकाशमा उल्कापात खसेको र बिलाएको देख्छौँ । यी उल्का पिण्डहरु धेरैजसो टाढा भएकालेे पृथ्वीमा आइनपुग्दै घर्षणले गर्दा बिलाएर जान्छन् । पृथ्वीको इतिहासलाई नियाल्ने हो भने डाइनोसरको अस्थित्व अघि र पछि पृथ्वीमा धेरै उल्कापात खसेको पाइन्छ । उक्त उल्कापातको कारणले धेरै डाइनोसरको क्षति भएको तथ्य बैज्ञानिकहरुले प्रस्तुत गरेका छन् । कतिपय उल्का पिण्डहरुलाई पृथ्वीमा आइनपुग्दै आकाशमै नष्ट गर्न पनि बैज्ञानिकहरु सफल भएका छन् तर यदि भविष्यमा बैज्ञानिकले समेत नष्ट गर्न नसकिने बिशाल उल्कापात भएमा ठुलो क्षति हुन सक्छ ।

६. हरितगृह प्रभावको चरम अवस्था 

हरितगृह प्रभावको कारण बिश्वब्यापी रुपमा तापक्रम क्रमिक रुपमा वृद्धि हुँदै गइरहेको छ । यदि यो क्रम बढिरहेमा गर्मीको मौसममा मानिसको शरिरको औसत तापक्रम (३६.५०C) भन्दा बढी तापक्रम लामो समयसम्म कायम रहेमा यो तापक्रममा मस्तिष्क अत्यन्तै निष्क्रिय हुन गई विशेष गरी सुरुमा गरीब मुलुकका मानिसको धेरै संख्यामा मृत्यु हुन सक्छ । त्यसैगरी उच्च तापक्रममा सक्रिय हुने सूक्ष्म जिब (Thermophilic Microorganism) को प्रकोप पनि बढन् गई ठुलो संख्यामा मानवीय बिनाश निम्तिन सक्नेछ ।

७. शक्तिशाली मानव यन्त्र

प्रबिधिको क्रमिक बिकासको क्रममा ठुलो संख्यामा अत्यन्तै शक्तिशाली यन्त्र मानव (Robot) को बिकास हुनसक्छ । यदि यन्त्र मानवहरु नियन्त्रण बाहिर गएमा त्यसवाट पनि मानवीय क्षती हुन सक्नेछ ।

८. अन्य ग्रहका जीवको आक्रमण

कल्पना नै गर्न नसकिने आकारको यो ठुलो ब्रह्माण्डको निकै नै सानो अंशमा हामी मानव छौँ । सुर्य बाहेक यो ब्रह्माण्डमा नगन्य संख्यामा अन्य ताराहरु पनि छन् । ती ताराहरुको वरिपरि कयौं ग्रहहरु घुमिरहेका छ्न र त्यहाँ पनि पृथ्वीको भन्दा कयौं गुणा बिकसित र शक्तिशाली अनौठो खालको जीवको अस्तित्व रहेको हुन सक्ने अनुमान आइन्टाइनपछि कै प्रसिद्ध वैज्ञानिक इस्टेफेन हकिङ्स (Stephen Hawking) ले पनि गरेका छन् । तीमध्ये अत्यन्तै हिस्रक र शक्तिशाली जीवले पृथ्वीको पता लगाई अचानक् हमला गरेमा र मानिसले प्रतिरक्षा गर्न असक्षम रहेमा ठुलो संख्यामा मानवको क्षति हुनेछ ।

* राम ठकुरी नेपालपत्रका उप-सम्पादक तथा रसायनशास्त्री हुन् । उनी विज्ञान तथा प्रविधि र स्वास्थ्य क्षेत्रमा कलम चलाउछन् । उनका लेखहरु वैज्ञानिक, खोज तथा अनुसन्धानात्मक हुन्छन् ।

यो पनि पढ्नुहोस्

क्यान्सरबाट मुक्त रहन यी खानेकुराहरुदेखि टाढा रहनुहोस्

धार्मिक कार्यमा लसुन, प्याज र मासु नखानेबारे वैज्ञानिक विश्लेषण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !