१४ बैशाख २०८१, शुक्रबार

माता जानकीको जन्म जयन्ती घर-घरमा मनाइँदै


जन्म जयन्ती

जनकपुरधाम । आज माता जानकीको जन्मोत्सव यस पटक घरमै पूजापाठ गरी मनाइने भएको छ । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले कोरोना भाइस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी उत्सवका कार्यक्रम स्थगित गरी यस पटक घरघरमै पूजापाठ गरी मनाउन आग्रह गरेअनुसार घरघरमै साँझपख दीपोत्सव भइरहेको छ ।

जन्मोत्सवका दिन जानकी मन्दिरमा नौ दिनसम्म बधाई गीत, प्रवचन, दूधमती स्नान, रामायण प्रदर्शन, जानकी जन्मको विवेचना, छठिहार, गर्भ गृहमा अभिषेक र जन्मोत्सव विधि, सोहर (जन्मका बेला गाइने गीत) गङ्गा आरती, दीपोत्सव लगायत कार्यक्रममा देशविदेशका हजारौँ साधुसन्त र श्रद्धालुको सहभागितामा हर्षोल्लासपूर्वक मनाइने चलन रहेकामा यस पटक कलश स्थापना गरी दैनिक पूजापाठमात्र भइरहेको छ ।

माता जानकीको वैशाख शुक्ल नवमी तिथिमा मिथिलाको पुनौरा भन्ने स्थानमा जन्म भएको थियो । त्यसैले यस तिथिलाई जानकी नवमी पनि भनिन्छ । यस तिथिलाई मिथिलावासी धेरै महत्वपूर्ण ठान्दछन् र यस अवसरमा जनकपुरधामको जानकी मन्दिरमा मात्र होइन, सम्पूर्ण मिथिलाञ्चलमा ठाउँ–ठाउँमा ठूलो धार्मिक मेला लाग्ने गरेकामा यस पटक सबै कार्यक्रम स्थगित गरिएको छ ।

जानकी मिथिलाको माटोको उपज र उपलब्धि भएकाले उहाँप्रति सबै मिथिलावासी नतमस्तक हुन्छन्, यस अवसरमा हार्दिक धार्मिक भावनाको स्पष्ट प्रगतीकरण देखिन्छन् । उहाँ महिलोचित गुणबाट परिपूर्ण भएकाले आज पनि मिथिलाञ्चलका महिला उहाँको पदचिह्नको अनुशरण गरेर आफूलाई धन्य ठान्दछन् । यही भावभूमि मिथिला क्षेत्रमा एउटा भनाइ छ–

गौरी सन भाग आओर सीता सन सोहाग । अर्थात् विवाहिता स्त्रीको भाग्य गौरी जस्तो र सौभाग्य जानकी जस्तो हुनु पर्दछ । विवाहित स्त्रीले जानकी नवमीका दिन व्रत गर्ने चलन पनि छ । धार्मिक ग्रन्थहरूमा भूमिबाट उत्पन्न भएका कारण जानकीलाई अन्नपूर्णा स्वरूपा भनिएको छ । जानकीको व्रतले घरमा सुख, समृद्धि, अन्न र वैभव प्राप्ति, धैर्य, विवेक, ज्ञान, ममता, समर्पण उत्पन्न हुने मान्यता रहेको छ ।

जानकीलाई लक्ष्मीको अवतार पनि मानिएको छ । त्यसैले उहाँकै अनुकम्पाले मिथिलावासी सुखी जीवन एवं सम्पन्न जीवन सृष्टिको शुरुदेखि नै व्यतीत गर्दै आएको विश्वास पाइन्छ । जनक, जानकी, मिथिला र जनकपुरधाम धेरै ठाउँमा एकाकार र पर्यायवाची रहेको छ, त्यसैले जनकपुरधामको पहिचान जानकी र मिथिलाबाट भएको छ ।

उहाँको मैथिली, सीता, जानकी र सिया पर्यायवाची नामहरू रहेका छन् । उहाँले लोककल्याणका लागि आफ्नो जीवनको आहुति आनन्दपूर्वक दिएकी थिइन् । अतः पण्डित सतानन्दले यसरी लेखेका छन् :

जानकी स्वयं वेदमाता, जानकी त्रिकोणात्मिका जानकी विन्दु रूपाच, सर्वविद्या समन्विता । अर्थात् जानकीमै सबै वेद, शास्त्र पुराण रहेको छ र उहाँ मूल प्रकृतिरूपी महाशक्ति हुनुहुन्छ ।

किंवदन्तीअनुसार अनिकालबाट मुक्तिका लागि राजर्षि जनकले पुनौरामा हलेष्टि यज्ञ गर्दा जानकीको जन्म भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जानकीको जन्म वर्णन गर्दै यसरी लेखेका थिए :ः

जन्मिन यहाँ जानकी
मञ्जरी जस्तै धानकी
माण्डवी, कीर्ति, उर्मिला
बहिनी बाल चञ्चला
………………………..

लावण्यमयी जानकी
गहुँ र गोरी जानकी
………………………

अर्पित भइन् राममा
यही हो मेरो मिथिला
धरती शस्यश्यामला

शास्त्रमा सीता शब्दको तात्विक महत्वका सन्दर्भमा ‘सी’ मा रहेको इकार प्रपञ्च बीज मानिएको छ, त्यही नै माया र विद्या स्वरूप हो । स कार सत्यको नाम हो, यसैबाट अमृत प्राप्ति र सोम हुन् । माताको दोस्रो स्वरूप नारी हो, जो पृथ्वीबाट हलोको क्रममा उत्पन्न भइन् । उहाँलाई इच्छा, क्रिया, सोम, सूर्य र आगोको शक्ति पनि मानिएको छ ।

जानकीको सौन्दर्य अलौकिक र अवर्णनीय थियो । कवि तुलसीदासका अनुसार जानकीको सौन्दर्य मूर्तिमान साक्षात् शोभालाई पनि मात गर्ने खालको थियो, मर्यादा पुरुषोत्तम रामको चित्त पनि चञ्चल भएको थियो जब उहाँले अपूर्व सुन्दरी जानकीलाई सर्वप्रथम देखेका थिए । यसरी मिथिलाको माटोमा जानकीले जन्म लिनु नै एउटा स्वर्गीय वरदानभन्दा कम होइन । त्यसैले मिथिलाको संस्कृतिमा उहाँको जीवन चरित्र वन्दनीय, स्मरणीय र पूजनीय रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !