२० बैशाख २०८१, बिहिबार

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका


अञ्जली दिदी

काठमाडौँ । काठमाडौँको वसन्तपुरस्थित काष्ठमण्डपमा अञ्जली दिदी (मास्के) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएका छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएका अञ्जली दिदीले आज करिब दुई सय बढी दाजुभाइलाई सप्तरङ्गी टीका र मखमलीको माला लगाइदिए ।

दिदीसँग टीका लगाउन विभिन्न उमेर समूहका दाजुभाइ काष्ठमण्डपको मरु सत्तलमा भेला भएका थिए । काष्ठमण्डपमा सामूहिक टीका लागि एक सय ५० बढी मण्डप बनाइएको अञ्जलीले जानकारी दिए । दिदीबहिनी नभएका दाजुभाइको निधार खाली नहोस् भनेर आफूले तिहारको टीका लगाइदिएको उनको भनाइ छ ।

आफूले यही स्थानमा निरन्तर २५ वर्षदेखि सामूहिक भाइटीका लगाइदिँदै आएको जानकारी दिँदै दिदीले यस वर्ष पनि उही सम्मान, माया र निःस्वार्थ भावले टीका लगाइदिन पाउँदा अत्यन्त खुसी भएको बताए । अञ्जली दिदीले २५ वर्षसम्म निरन्तर आफूसँग तिहारको टीका लगाउने दाजुभाइलाई विशेष उपहार प्रदान गरेका थिए ।

काठमाडौँको मरु निवासी नरेश श्रेष्ठ अञ्जली दिँदीसँग सप्तरङ्गी टीका लगाउन पाउन प्रशन्न थिए । उनले तिहारमा निधार खाली तथा मन खल्लो नहोस् भनेर अञ्जली दिदीसँग टीका लगाउन आएको बताए । मण्डपमा बसेका दाजुभाइलाई अञ्जली दिदीले सप्तरङ्गी टीका, माला र सगुन प्रदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !