२२ बैशाख २०८१, शनिबार

छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरी मनाइँदै


छठ पर्व ‘खरना’

काठमाडौँ । हिजो शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको दोस्रो दिन आज खरना गरी मनाइँदै छ । आज श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् ।

हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् । यसअघि शुक्रबार नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन् ।

पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । यसलाई मिथिलामा ‘भोरका अरख’ भनिन्छ ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउन जाने मैथिल परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ ।

अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलासय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेसीमूलका हिन्दूहरुले मात्र मनाउँदै आएका यो पर्व अब पर्वतेमूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्घिजीवी बताउँछन् । पर्वमा सबै धर्म, संस्कृति र वर्ग सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !