१५ बैशाख २०८१, शनिबार

यसवर्ष घटस्थापनाको शुभ साइत : असोज १० गते बिहान १०ः२३ बजे


घटस्थापना

काठमाडौँ । यस वर्ष असोज १० गते सोमबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । घटस्थापनाका लागि बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । असोज ११ गते झण्डा फेर्ने साइत ११ः११ बजे उत्तम रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । झण्डा फेर्दा पूर्व मोहडा गरेर फेर्नुपर्ने पनि उनले सुनाए ।

असोज १४ गते शुक्रबार पचलीभैरव यात्रा हुने भएको छ । असोज १६ गते आइतबार फूलपाती पर्व परेको छ । यसै दिन बिहान १०ः०५ बजे तुलजा भवानी यात्राको साइत जुरेको छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत बिहान ११ः३५ बजेको छ ।

असोज १७ गते सोमबार महाअष्टमी पर्व परेको छ । राति भने कालरात्रि पर्व मनाइन्छ । असोज १८ गते मङ्गलबार महानवमी पर्व परेको छ । असोज १९ गते बुधबार विजयादशमी पर्व परेको छ । नेपालीको महान् पर्व बडादशैँको यो मुख्य दिन हो । यस दिन बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत भने ८ः४७ बजे रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि यसै दिन परेको छ ।

असोज २२ गते शनिबार सबै बलिपूर्ति गर्नुपर्ने छ । असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमा पर्व परेको छ । यस दिन बेलुकी घर घरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दशैँ पर्व समापन हुन्छ ।

बडा दशैँका अवसरमा बजार पसलमा पनि भीड हुने गर्छ । राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँ नजिकिएसँगै बजारमा भीड बढ्न थालेको छ । दशैँमा सहुलियत मूल्यमा खाद्य पदार्थ बिक्री वितरणका लागि सरकारले सुपथ मूल्य पसल पनि सञ्चालन गर्दै आएको छ ।

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् ।

यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।

विजया दशमीको उत्तम साइत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !