२० बैशाख २०८१, बिहिबार

किन नयाँ पुस्तामा लोप हुदैछ लुतो फाल्ने प्रचलन ?


किन नयाँ पुस्तामा लोप हुदैछ लुतो फाल्ने प्रचलन ?

काठमाडौँ, साउन १ । आज साउने सक्रान्ति । साउने संक्रान्तिलाई लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । नेपालका प्राचीन संस्कृति अनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्री बारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।

आज पुरै विश्व चरम भौतिकवादको जलजलमा फसिरहेको छ । पश्चिमीकरणको प्रभावले गर्दा आज गरीवदेखि धनी सवैले छोराछोरीहरुलाई प्राय: बोडिंग स्कुलमा नै पढाउने गर्छन् । अंग्रेजी शिक्षा पढ्दा आफ्ना छोराछोरीहरु विदेशमा पनि पढ्न जान सहज हुने भुत हाम्रा नेपाली अभिभावकहरुमा चढेको हुन्छ । तर राम्रो शिक्षा दिने नाउँमा धेरै अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई आफ्नो धर्म, संस्कृति, रितिरिवाज, चलनचल्ती, नैतिकताको बारेमा शिक्षा नदिदाँ अहिलेको नयाँ पुस्ता यी कुराहरुमा बेखवर छन् । ५ वर्ष पुगेको छैन अहिलेका केटाकेटीहरुलाई मोवाइल, ल्यापटप चाहिन्छ । मोवाइल ल्यापटपमा पब्जी ग्याम खेल्न र फेसबुक चलाउन व्यस्त देखिन्छन अहिलेका ठिटाठिटीहरु ।

साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले धेरै गर्मी हुने र निरन्तर झरी पर्ने तथा कृषकहरु कृषि कार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने हुन्छ । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने बढी सम्भावना हुन्छ ।

परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ ।

सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ । कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ । महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !