१५ बैशाख २०८१, शनिबार

प्रदेश नं १ मा १३७ र २ मा २५० सङ्क्रमित थपः गण्डकीमा दुई हजार र कर्णालीमा पच्चीस सय पुगे


कोभिड-१९

विराटनगर, १७ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १३७ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये ३३ महिला र १०४ पुरुष छन् । थपिएका सङ्क्रमितमा सुनसरीमा ७१, मोरङमा ४७, झापामा ११, भोजपुरमा तीन, पाँचथरमा एक र प्रदेश बाहिरका चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाका अवधिमा सुनसरीको इटहरीमा ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ जसमा सात महिला र ५१ पुरुष छन् । थपिएका सङ्क्रमितमध्ये धरानमा सात, बर्जुमा दुई, इनरुवा र भोक्राहा नरसिंहमा एकएक पुरुष तथा स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा सोही अवधिमा २१ महिला र २३ पुरुष, धनपालथानमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, झापाको कमल गाउँपालिकामा तीन महिला र तीन पुरुष, मेचीनगरमा तीन पुरुष, बिर्तामोड र गौरीगञ्जमा एकएक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ ।

उता भोजपुरको हतुवागढीमा तीन पुरुष, पाँचथरको स्थानीय तहमा नखुलेको एक पुरुष तथा प्रदेश बाहिरका दुई महिला र दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशमा हालसम्ममा कोरोना सङ्क्रमितक्रमितको सङ्ख्या तीन हजार ५९१ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा ८४ जना डिस्चार्ज भएका छन् । हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेशमा एक हजार ३४९ जनाको पिसिआर परीक्षण भई हालसम्ममा ९१ हजार ५१४ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

निषेधाज्ञा पुनः नथप्न माग
मोरङमा यही भदौ १६ देखि २२ गतेसम्म जारी निषेधाज्ञा पुनः नथप्न उद्योगी व्यापारीहरुले माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमा यही भदौ ५ गते भएको सुरक्षा समितिको बैठकले भदौ ६ देखि ९ गतेसम्म र भदौ ९ गते बसेको बैठकले भदौ २२ सम्म जिल्लाभरि निषेधाज्ञा लागू गरेको छ । पहिलो पटक भएको निषेधाज्ञा मोरङका चार स्थानीय तहमा लागू भएको थियो भने दोस्रो निषेधाज्ञा जिल्लाभरि लागु गरी मध्याह्न १२ बजेसम्म पसल खोल्न पाउने निर्णय भएको थियो । पछिल्लो निषेधाज्ञाको निर्णयसँगै जिल्लाभरि अपराह्न ४ बजेसम्म बजार खोल्न पाउने निर्णय सुरक्षा समितिको बैठकले गरेको थियो ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघका अध्यक्ष भीम घिमिरे, प्रकाश मुन्दडा र सुजन थापाले संयुक्त रुपमा आज विज्ञप्ति जारी गर्दै अब पनि लकडाउन तथा निषेधाज्ञा थप गर्ने हो भने उद्योग, व्यापारव्यवसाय पूर्णरुपमा बन्द गर्ने वा निषेधाज्ञा उलङ्घन गर्ने बाध्यकारी अवस्था आउने भएकाले नलम्ब्याउन आग्रह गर्नुभएको छ ।

कोरोना भाइरसबाट बच्न र बचाउन विश्व स्वास्थ्य संगठनद्वारा घोषित आचारसंहिता पूर्ण रुपमा पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गर्दै विज्ञप्तिमा महामारीको यस अवस्थामा समेत उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पु¥याउँदै आएका उद्योगव्यवसायलाई सहजरुपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन सम्बन्धित निकायसँग माग गरिएको छ ।

जनकपुर– प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु हुनाका साथै २५० जना नयाँ सङ्क्रमित थपिएका छन् । सो अवधिमा बारा जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशका अहिलेसम्ममा ९५ जनाको मृत्यु भइसकेको छ ।

सोही अवधिमा सप्तरीमा १५, सिरहामा १३, धनुषामा ५८, महोत्तरीमा २९, सर्लाहीमा ५१, रौतहटमा १८, बारामा ५२ र पर्सामा १४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ५५६ पुगेको छ ।

तीमध्ये आज ८३ जना निको भएर घर फर्केका छन् । उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार ७१ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ६३५ जना बसेका छन् । होम क्वारेन्टिनमा एक हजार ६३१, आइसोलेशनमा एक हजार ९० र होम आइसोलेशनमा चार हजार ३०० जना रहेको सो मन्त्रालयले जनाएको छ ।

गण्डकी– गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या दुई हजार २४५ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा, भरतपुर अस्पताल चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ३५ संक्रमित थप भएको प्रदेश कोरोना नियन्त्रण तथा कार्यक्रमका प्रवक्ता .विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरामा मात्रै एक नर्स र २० प्रहरी सहित २४ जनामा कोरोना देखिएको छ ।

कर्णाली– कर्णालीमा आज ९५ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्तिअनुसार संक्रमितको संख्या अप्रत्याशित रुपमा बढेको पाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरटी पिसिआर परीक्षणमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तिनमा जुम्लाका ३७ र कालीकोटका २१ जनामा कोरोना पुष्टि भएको महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा सुर्खेतका १७, दैलेखका पाँच, बाँकेका चार, जुम्ला र जाजरकोटका दुईदुई तथा कालीकोट, बर्दिया, बझाङ, कैलाली, दार्चुला र दाङका एकएक गरी ३७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

आज ९५ व्यक्तिमा संक्रमण देखिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ५५१ पुगेको छ । दुई हजार १२५ व्यक्ति कोरोना संक्रमणमुक्त भएको बताउँदै महाशाखा प्रमुख शाहीले ३३५ संक्रमितको प्रदेशअन्तर्गतका विभिन्न आइसोलेशनमा उपचार भइरहेको जनाउनुभयो ।
पुनः निषेधाज्ञा

कर्णालीमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दो अवस्थामा छ । दैनिक थुप्रै व्यक्तिमा कोरोना संक्रमण देखिँदा प्रदेशका जिल्ला प्रशासन कार्यालयले कतै सदरमुकाम त कतै जिल्लाभरि निषेधाज्ञा जारी गर्दै आएका छन् ।

मंगलबार मात्र जुम्लामा ४२ र कालीकोटमा १९, सुर्खेमा ११ र दैलेखमा एक गरी ७३ व्यक्तिमा कोरोना संक्रमण देखियो । नगरपालिकाभित्रै बढी संक्रमित भेटिएपछि जिप्रका जुम्लाले पुनः अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

संक्रमणले झनै भयावह अवस्था लिन थालेपछि जुम्ला सदरमुकामको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, दक्षिण तिलानदी र उत्तरमा कर्णाली प्राविधिक शिक्षालय क्षेत्रमा निषेधाज्ञा जारी गरिएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रजिअ थापाले भन्नुभयो, “अर्को सूचना नभएसम्मका लागि यी चार किल्लाभित्र जमघट, भेला, भिडभाड, पर्व, जात्रा तथा आसन्न चाडपर्वहरु नगर्न नगराउन र औषधि पसल तथा स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप बन्द गर्न आदेश गरिएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !