४ जेष्ठ २०८१, शुक्रबार

नेपालले जारी गरेको नयाँ नक्सा भारतद्वारा अस्वीकार


भारतीय विदेश मन्त्रालय

७ जेठ, काठमाडौं । नेपाल सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको नयाँ नक्सालाई भारत सरकारले अस्वीकार गरिदिएको छ । नेपालले बुधबार जारी गरेको नेपालको नक्साप्रति आपत्ति जनाउँदै भारतले आफ्नो भू-भाग समेटेर नेपालले नक्सा जारी गरेको दाबी गरेको छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतले त्यसको विरोध गरेको हो ।

भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भू-भाग परेको दाबी समेत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा आज बुधबार जारी गरिएको विज्ञप्तिमा नेपालले जारी गरेको नक्सा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको बताएका छन् ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘सीमा विवाद कूटनीतिक संवादद्वारा समाधान गर्ने द्विपक्षीय समझदारी विपरीत यो आएको छ, सीमाको यो कृतिम दाबी भारतले स्वीकार गर्दैन।‘ श्रीवास्तवले नेपाल भारतको अवस्थाप्रति जानकार रहेको दाबी पनि गरेका छन् । उनले नेपाल सरकारसँग यो अपुष्ट दाबीबाट हट्न पनि आग्रह गरेका छन् ।

भारतको सार्वभौमसत्ता र सीमालाई सम्मान गर्न पनि उनले नेपाल सरकारसँग आग्रह गरेका छन् । नेपाली नेतृत्वले यसबारे कूटनीतिक वार्ताको सकारात्मक वातावरण बनाएर सीमा विवाद सुल्झ्याउने भारतको अपेक्षा रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै उक्त विज्ञप्तिमा नेपाली नेतृत्वले कूटनीतिक सम्वाद मार्फत सीमा विवाद समाधान गर्ने वातावरण बनाउने विश्वास व्यक्त गरिएको छ ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज बुधबार सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट सोमबार पारित भएको उक्त नक्सा आज बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी हुन् ।

भारतले नोभेम्बरमा यसरी नै एकपक्षीय रुपमा नयाँ राजनीतिक नक्सा जारी गरेको छ । नेपाली भू-भागलाई समेटेर नक्सा जारी गरेको भन्दै नेपालले विरोध गर्नुका साथै कूटनीतिक नोट समेत पठाएको थियो । यो सीमा विवादबाट सम्वाद गर्ने परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकको मिति २ पटक प्रस्ताव गरेतापनि भारतले बैठक टार्दै आएको थियो ।

भारत सरकारले वैशाख २६ शुक्रबार उद्घाटन गरिएको सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेर वैशाख २७ गते शनिवार एक विज्ञप्ति जारी गर्दै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा उद्घाटन भएको सडक सम्पूर्ण रुपमा भारतीय भू-भागमा पर्ने यो रुट कैलाश मानसरोवर जाने धर्मालम्बीले प्रयोग गर्दै आएकोमा वर्तमान परियोजना अन्तर्गत सोही रोडलाई दर्शनार्थी, स्थानीय र व्यापारीलाई सहज हुनेगरी बनाइएको व्यक्त गरेको थियो ।

यो पनि पढ्नुहोस्

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा गरियो सार्वजनिक

भारतीय विदेश मन्त्रालयद्वारा आफ्नै भूमिमा सडक बनाइएको धारणा

भारतले लिपुलेक हुँदै सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !