८ बैशाख २०८१, शनिबार

नेपालको ऐतिहासिक नयाँ नक्सा गरियो सार्वजनिक


नेपालको नक्सा गरियो सार्वजनिक

काठमाडौं, जेठ ७ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज बुधबार सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्बाट सोमबार पारित भएको उक्त नक्सा आज बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाही समेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ । सार्वजनिक गरिएको नक्सा राजनीतिक, प्रशासनिक तथा शैक्षिक पाठ्यक्रम लगायत क्षेत्रमा तत्काल कार्यान्वयनमा ल्याइनेछ ।

सार्वजनिक गरिएको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई समेटिएको नयाँ नक्सालाई सबै किसिमका प्रशासनिक र सबै प्रवन्धमा प्रयोग गर्ने गरी अगाडि बढाइनेछ । जस अनुसार प्रदेश, स्थानीय तह समेत नयाँ नक्सामा समेटिएको छ । अरू अन्तर्राष्ट्रिय सिमाना यथावत् छन् ।

भारत सरकारले गत कात्तिक १६ गते नेपाली भूमि लिम्पियाधुरा, कालापानी सहितको राजनीतिक नक्सा जारी गरेपछि नेपाल सरकारले त्यसको विरोध गर्दै कूटनीतिक नोट समेत पठाएको थियो । भारत सरकारले कालापानी क्षेत्र हुँदै खनिएको बाटो केही दिनअघि उद्घाटन गरेपछि नेपाल सरकारले पुनः कूटनीतिक नोट लेखेको थियो । सुगौली सन्धिले लिम्पियाधुरा भई बगेको काली नदीलाई स्पष्ट रूपमा सीमा नदी मानेको छ ।

महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधिकारिक प्रमाण इस्ट इन्डिया कम्पनी र सर्वे अफ इन्डियाद्वारा प्रकाशित नक्सा नै यसअघि प्रकाशित थिए । त्यस्तै सुगौली सन्धिको ३ वर्षपछि सन् १८१९ मा इस्ट इन्डिया कम्पनी सरकारको सर्वे कार्यालयबाट प्रकाशित नक्सामा लिम्पियाधुराबाट उत्पत्ति भई बग्ने नदीलाई ‘काली आर’ भनिएको छ ।

मन्त्री पद्मा अर्यालद्वारा नक्सा सार्वजनिक

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !